कांग्रेसको अवरोधपछि कर्णाली प्रदेशसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित

मुना हमाल

सुर्खेत - कर्णाली प्रदेशसभाको बैठक असार ११ गतेसम्मका लागि स्थगित भएको छ ।

आइतबार बजेटको छलफलमा मुख्यमन्त्री उपस्थित नभएको भन्दै नेपाली कांग्रेसले अवरोध गरेपछि बैठक ११ गते दिउँसो तीन बजेसम्मका लागि स्थगित गरिएको हो । नेपाली कांग्रेसका सांसदहरुले मुख्यमन्त्री उपस्थित नभए बैठक बस्न नदिने अडान राखेपछि बैठक स्थगित भएको हो । 

बैठकको सुरुमै आर्थिक बर्ष २०७६-७७ को बजेटमाथि छलफलका लागि सभामुख राजबहादुर शाहीले नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई समय दिनुभएको थियो । नेता शाहीले बजेटजस्तो महत्वपूर्ण विषयमा मुख्यमन्त्री उपस्थित नभएसम्म छलफलमा सहभागी नहुने भन्दै विरोध गर्नुभएको थियो ।

लगत्तै नेपाली कांग्रेसका सबै सांसदहरुले उठेर विरोध जनाएका थिए । नेता शाहीले बजेटजस्तो महत्वपूर्ण बिषयको छलफलमा मुुुख्यमन्त्रीले ध्यान नदिएको आरोप लगाउनुभयो । 

प्रकाशित मिति: : 2019-06-23 19:47:34

प्रतिकृया दिनुहोस्