सुन तस्करीको शैली फेरिँदै (भिडियो सहित)

कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा स्वदेश फर्कन लागेका नेपाली कामदारलाई सुन पठाउन कुरिरहेका सुन तस्कर समूहका नेपाली युवा । तस्बिर : नयाँ पत्रिका

सुन तस्करी रोक्न सरकारले कडाइ गरे पनि सुन ओसारपसार रोकिएको छैन । तस्करीमा संलग्नहरूले फरक शैली अपनाएर अन्तर्राष्ट्रिय विमानस्थलबाटै सुन भित्र्याउँदै आएका छन् ।  वैदेशिक रोजगारका लागि कतार पुगेका कामदारहरूलाई आर्थिक प्रलोभन दिई भरिया बनाएर सुन काठमाडौं भित्र्याउने गरिएको फेला परेको छ । त्यसका लागि तस्करीमा संलग्नहरूले कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थललाई प्रयोग गरिरहेका छन् । विमानस्थलभित्रै जुनसुकै वेला सुन तस्करीमा संलग्नहरू भेटिन्छन् । 

बोर्डिङ पास बनाउने क्षेत्रसम्म पहुँच पु-याएका उनीहरूले नेपाल फर्कनेहरूलाई आर्थिक प्रलोभन दिई सुन बोकाएर पठाउने गरेका छन् । नेपाल सरकारले तोकेको मापदण्डअनुसार ५० ग्राम सुन लगिदिए ६ हजार रुपैयाँ नगद दिने, काठमाडौंको रातोपुलस्थित जनक होटेलमा खान–बस्नको व्यवस्था हुने र घरसम्म पुग्ने गाडीका लागि टिकटसमेत व्यवस्था गरिदिने प्रस्ताव उनीहरूले गर्ने गरेका छन् । 

दोहाबाट फर्कने क्रममा नयाँ पत्रिकाकर्मीलाई पनि विमानस्थलभित्र उनीहरूले त्यस्तो प्रस्ताव गरेका थिए । चितवन घर बताउने विश्वास लामा, सिर्जन थापा मगर र सिरहा घर बताउने (नाम नखुलेका) व्यक्तिले त्यस्तो प्रस्ताव गरेका थिए ।  विमानस्थलभित्रै करिब आधा दर्जन संख्यामा तस्करहरू परिचालित थिए । बोर्डिङ पास बनाउन लाइन बस्न जान लागेकालाई बोलाएर पालैपालो डिल गरिरहेको देखिन्थ्यो । सुन बोकेर जान प्रस्ताव आएपछि त्यसक्रममा भएका सम्पूर्ण कुराकानीको नयाँ पत्रिकाकर्मीले गोप्य रूपमा भिडियो रेकर्डिङ गरेका छन् । 

 

तस्कर समूहको प्रश्न– सुन लिएर फर्कंंदै हुनुहुन्छ कि रित्तै ?
स्थान : हमाद अन्तर्राष्ट्रिय विमानस्थल, दोहा कतार
समय : मध्यरात १२ बजे

प्रकाशित मिति: : 2019-06-19 23:15:03

प्रतिकृया दिनुहोस्