गर्मीमा आँखालाई कसरी स्वस्थ राख्ने ? (भिडिओ रिपोर्ट)

तस्बिरः सेतोपाटी

आँखा हाम्रो शरीरको महत्त्वपूर्ण र संवेदनशील अंग हो। आँखाकै कारण संसार देखिने भएकोले शरीरका अन्य अंगमध्ये यसको अझै बढी महत्त्व छ। आँखामा विभिन्न खाले समस्याहरू देखापर्छन्। त्यसमा पनि गर्मीको समयमा आँखामा बढी समस्या देखा पर्छ। गर्मीमा आँखा पाक्ने, चिलाउने र आखा पोल्ने समस्याले बढी सताउँछ।

आँखा पाक्ने समस्या

हाम्रो आँखाको सेतो भागमा देखिने झिल्ली हुन्छ। आँखाको ढकनीमा लाग्ने झिल्लीमा संक्रमण भयो भने आँखामा संक्रमण हुन्छ। यसले गर्दा आँखा पाक्ने समस्या आउँछ। मुख्यतया भाइरस र व्याक्टेरियाको समस्याले नै आँखा पाक्छ। यो बाहेक अन्य किटाणुको कारणले पनि आँखा पाक्छ।

शरीरको ‘इम्युन सिस्टमले’ व्याक्टेरियासँग र संक्रमण हुन सक्ने किटाणुसँग लड्न सक्ने क्षमता कम भयो भने संक्रमण देखिन्छ। आँखा पाक्ने रोग सरूवा रोगको रूपमा देखिन्छ। आँखा पाकेको व्यक्तिलाई हेरेर यो रोग सर्ने होइन। आँखामा संक्रमण भएको बिरामीको आँखाको आँसुबाट सुरू भएर अरूलाई सर्ने हुन्छ। बिरामीले छोएको सामानबाट र रुमालबाट बढी सर्छ।

यसका लक्षणहरू :

  • बिरामीलाई सुरूमा आँखामा अफ्ठयारोपनको महशुस हुन्छ।
  • आँखामा रातोपन हुन्छ ।
  • रातोपनसँगै आँखाबाट चिप्रा आउने समस्या हुन्छ।
  • आँखाको वरिपरिको ढकनी सुन्निन्छ।
  • उज्यालोमा हेर्न गाह्रो हुन्छ ।

यसको उपचार

आँखामा समस्या आएपछि सुरूमा उपचारको लागि चिकित्सककहाँ नै जानुपर्छ। आँखामा जथाभावी औषधि हाल्नु हुँदैन। आँखालाई असर नहुने औषधिहरू हुन्छन् त्यसको प्रयोग गर्नुपर्छ। उपचारको लागि नेत्र विशेषज्ञकहाँनै जानुपर्छ। बिरामीले पनि आफ्नो उपचारका लागि पहल गर्नुपर्छ। आँखाको सरसफाइमा ध्यान दिनुपर्छ।

प्रकाशित मिति: : 2019-06-15 12:17:09

प्रतिकृया दिनुहोस्