बाँचुन्जेल नेता

तस्बिरः अन्नपूर्ण पोष्ट

काठमाडौं : कम्युनिस्ट नेता मोहनविक्रम सिंह ८५ वर्षका भए। उनी यसै साता नेकपा (मसाल) को महासचिवमा चयन भएका छन्। काठमाडौं थानकोटस्थित ग्रिन पार्टी प्यालेसमा भूमिगत शैलीमा सम्पन्न पार्टीको आठौं महाधिवेशनले उनलाई पाँच वर्षका लागि महासचिवमा चयन गरेको हो।

सिंह ०३१ सालदेखि निरन्तर पार्टी नेतृत्वमा छन्। त्यसयताको ४४ वर्ष (एक वर्ष आन्तरिक कारबाही) सिंह निरन्तर शीर्ष नेतृत्व (महासचिव पद) मा छन्। उनी ०५७/०५८ सालमा केही समय कारबाहीमा पर्दा मात्र नेतृत्वमा रहेनन्।

सिंहलाई महाधिवेशनमा पार्टीभित्र टक्कर दिने नेतै देखिएनन्। अन्य केही नेताले भित्री आकांक्षा देखाए पनि सिंहसामु नेतृत्वको दाबी गर्ने हिम्मत कसैले गरेनन्। यसरी सिंह पाँचौंपटक महामन्त्री भए।

‘केन्द्रीय समितिमा नयाँ पुस्ताका पनि चुनिनुभएको छ, हामी पुराना पुस्ताका पनि छौं,’ सिंहले अन्नपूर्णसँग भने, ‘नेतृत्वको निर्णय महाधिवेशनले गर्ने हो। आवश्यकताले कसलाई दिँदा उपयुक्त हुन्छ भन्ने ठान्छ, उसैलाई दिने हो, मलाई आवश्यकता ठान्यो अनि आफैंले नेतृत्व लिएँ।’

सिंह २०१४ सालदेखि नै नेकपाको केन्द्रीय समितिमा छन्। वयोवृद्ध सिंहले नेतृत्व नछोड्दा नेताहरू पदमा बस्न निकै लालायित हुँदा रहेछन् भन्ने सन्देश गएको छ। सिंह भने साथीहरूको विश्वास र आफ्नो सक्रियताले नेतृत्वमा रहिरहेको जिकिर गर्छन्। उनी भन्छन्, ‘लेनिनवादी सिद्धान्त भनेको नेतृत्वमा भरसक निरन्तरता हुनुपर्छ भन्ने हो। आवश्यकताअनुसार परिवर्तन पनि हुन सक्छ। तर साथीहरूको विश्वास र आफ्नै सक्रियताले मैले फेरि नेतृत्व पाएको हुँ।’

सिंह त उदाहरण मात्र हुन्। नेपालका अन्य राजनीतिक दलभित्र पनि नेतृत्वमै टाँसिरहन चाहने धेरै नेता छन्। कतिपयले एक दशकदेखि चार दशक लामो समयसम्म नेतृत्व हाँकेका छन्।

प्रकाशित मिति: : 2019-06-15 07:32:30

प्रतिकृया दिनुहोस्