मेरो पहिलो चुम्बन

आइतबार, १६ अप्रिल १९४४

प्यारी किट्टी!

हिजोको दिन नबिर्स।

त्यो मेरो जीवनको अत्यन्त महत्वपूर्ण दिन थियो।

पहिलो चुम्बन प्राप्त गरेको दिन हरेक केटीका लागि विशेष हुन्छ।

अचानक कसरी यो चुम्बन प्राप्त गरें? विस्तारमा बताउँछु।

हिजो साँझ् आठ बजे सोफामा पिटरसँग बसिरहेकी थिएँ। एकै छिनमा उसले आफ्नो हात मेरो काँधमा राख्यो। ‘मेरो टाउको दराजमा ठोकिन लाग्यो’, मैले भनें, ‘अलिकति उता सर न।’

ऊ झण्डै कुनासम्मै सर्यो। मैले आफ्नो हात उसको पाखुरामुनिबाट ढाडमा राखें। ऊबाट लगभग छोपिएकी थिएँ। उसको हात मेरो काँधमा थियो।

म पिटरको अँगालोमा थिएँ। हामी यसरी अरू बेला पनि नबसेका होइनौं, तर हिजोजति निकट कहिल्यै भएका थिएनौं। उसले मलाई दह्रो गरी आफूसँग टाँस्यो। मेरो देब्रे कुम उसको छातीमा टाँसिएको थियो। मेरो मुटु जोडजोडले ढुकढुक गर्न थालिसकेको थियो।

प्रकाशित मिति: : 2019-06-15 05:04:39

प्रतिकृया दिनुहोस्