आन्तरिक उडान गर्न निगमसँग नौ जहाज, सातवटा उडाइँदैन

जनार्दन बराल, दिवाकर पन्त

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको आन्तरिक उडान धराशयी बनाउन वर्तमान नेतृत्व नै लागेको खुलेको छ । आन्तरिकतर्फ निगमसँग भएका नौ जहाजमध्ये अहिले सातवटा जहाज ग्राउन्डेड छन् । दुईवटा एमए ६०, चारवटा वाई–१२ र तीनवटा ट्विनअटर जहाजले आन्तरिक उडान गर्नुपर्नेमा हाल दुईवटा मात्रै उडिरहेका छन् । आन्तरिकतर्फका पाइलटमध्ये कसैलाई अन्तर्राष्ट्रियतर्फ सारिएको छ भने भएकालाई पनि आवश्यक तालिमबाट वञ्चित गरी नियतवश उडानका लागि अयोग्य बनाइएको देखिन्छ ।

जहाज उडाउन पाइलट नभएकाले आन्तरिक उडान रोकिएको दाबी व्यवस्थापनले गरेको छ । तर, यिनै जहाज उडाउने जिम्मेवारी दिइएका पाइलटलाई भने आवश्यक तालिम र प्राविधिक परीक्षणबाट वञ्चित गरिएकाले अधिकांश पाइलट उडानका लागि अयोग्य छन् । आन्तरिक उडान प्रभावित हुने गरी केही पाइलटलाई अन्तर्राष्ट्रिय उडानतर्फ पठाइएको छ । त्यसले अन्तर्राष्ट्रियतर्फ ‘ओभर स्टाफिङ’ भएको छ ।

मासिक ६ करोड ३० लाख घाटा
आन्तरिक उडानका सातवटा जहाज ग्राउन्डेड हुँदा निगमलाई दैनिक २१ लाख र मासिक ६ करोड ३० लाख घाटा भइरहेको छ । एउटा जहाजबाट दैनिक औसत तीन लाख घाटा हुने गरेको निगमले जनाएको छ । जहाज सञ्चालन हुँदा यात्रु बोकेबापत प्राप्त हुने रकमलाई नोक्सानीमा राखिन्छ । त्यस्तै, जहाज ग्राउन्डेड भए पनि बिमा, ग्राउन्ड पार्किङ शुल्क, क्रु मेम्बरलाई दिने तलबभत्तालगायत खर्च नियमित भइरहन्छ । यो रकम पनि निगमको घाटामै जोडिन्छ ।

प्रकाशित मिति: : 2019-06-13 14:28:35

प्रतिकृया दिनुहोस्