नेपालको स्याटेलाइट राख्ने अन्तरीक्षमा विवाद, बीचमा आयो लाओस

रवीन्द्र घिमिरे

३० जेठ, काठमाडौं । नेपाल र फ्रान्सबीच आज (बिहीबार) हुने भनिएको स्याटेलाइट खरिद सम्झौता अन्तिम समयसम्म आएर अनिश्चित बनेको छ । सञ्चार मन्त्रालयको उच्च स्रोतको भनाइमा आज सम्झौता हुन पनि सक्छ, नहुन पनि सक्छ । यद्यपि, प्रधानमन्त्री केपी शर्मा ओली फ्रान्स पुगिसकेकाले स्टाटेलाइट र सुरक्षण मुद्रण दुबैमा लगानी सुनिश्चितता गर्ने सैद्धान्तिक सहमतिचाहिँ हुन सक्ने मन्त्रालय स्रोतले बताएको छ ।

प्रधानमन्त्री ओली अहिले फ्रान्समा छन् । प्रधानमन्त्री फ्रान्स गएका बेला स्याटेलाइट र सुरक्षण मुद्रण (प्रिन्टिङ प्रेस) खरीदका लागि औपचारिक सहमति नै हुने यसअघि बताइएको थियो ।

मन्त्रालयअनुसार स्टाटेलाइट खरीद सम्झौताका लागि लगभग ९० प्रतिशत गृहकार्य सकिएको छ । तर, बीचमा ‘लाओस फ्क्याटर’ आएपछि केही अन्योल भएको हो ।

नेपालले अन्तरीक्षमा प्राप्त गर्ने स्लट नजिकै लाओसले आफ्नो व्यवसायिक स्लट दाबी गरेको छ । यस विषयमा नेपाललाई चार वर्ष अगाडि नै लाओसले पत्र पठाएको भए पनि नेपालले कुनै जवाफ दिएको थिएन ।

अन्तर्राष्ट्रिय दूरसञ्चार संगठन (आईटीयू) ले नेपाललाई दिएको अर्बिटल स्लट १२३.३ डिग्री देशान्तरमा रहेको छ । यसलाई नेसनल स्लट भनिन्छ । लाओसले चाहिँ १२५ डिग्री देशान्तरमा आफ्नो कमर्सियल स्लट दाबी गरेको छ ।

प्रकाशित मिति: : 2019-06-13 13:06:14

प्रतिकृया दिनुहोस्