काठमाडौं उपत्यकामा ‘नाइट बस’ सञ्चालन गरिने!

चक्रपथमा गुडेका सवारी

काठमाडौं । यातायात व्यवस्था विभागले असार एक गतेबाट काठमाडौं उपत्यकामा ‘नाइट बस’ सञ्चालनमा ल्याउने भएको छ । यात्रुको आवश्यकता र सेवा सुविधालाई मध्यनजर गर्दै काठमाडौं उपत्यकाभित्र रात्रिकालीन सार्वजनिक यातायात सञ्चालनमा ल्याउन लागेको विभागले जनाएको छ । विभागले केहीवर्ष अघि पनि रात्रिकालीन सवारी सञ्चालनमा ल्याएको भए पनि केही समयमै बन्द भएको थियो ।

विभागले हाल उपत्यकामा सञ्चालनमा रहेका बसलाई नै रातको समयमा सञ्चालन गर्ने तयारी गरेको हो । काठमाडौंमा आठ बजेसम्म मात्र सार्वजनिक भाडाका सवारी साधनले सेवा दिँदै आएका छन् । उपत्यकामा सञ्चालित विभिन्न अस्पताल, सञ्चारमाध्यम, होटल, रेस्टुरेन्ट, ग्यारेज, सेक्युरिटी गार्ड, मल, फिल्म हल आदिमा रोजगारी गर्दै आएका सर्वसाधारणलाई यो सेवाबाट प्रत्यक्ष फाइदा पुग्ने विभागका महानिर्देशक कुमारप्रसाद दहालले बताए ।

 यसका साथै अस्पताल जाने बिरामी, कुरुवा, वैदेशिक रोजगारीमा जाने कामदार र बाहिरी जिल्लाबाट आएका नाइट बसमा काठमाडौं आइपुगेका यात्रुलाई गन्तव्यसम्म पुग्नका लागि रात्रिकालीन यातायात सेवाले फाइदा पुग्ने विभागको विश्वास छ । विभागले हालै गरेको निर्णयले असार एकगतेबाट उपत्यकामा बिहान आठ बजेदेखि बेलुका सात बजेसम्म सबै प्रकारका मालबाहक सवारी साधन सञ्चालनमा रोक लगाएको छ । 
प्रकाशित मिति: : 2019-06-13 10:28:40

प्रतिकृया दिनुहोस्