राष्ट्रपतिको गाउँमा पानीको हाहाकार, बसाइँ सर्दै स्थानीय

प्रदीपचन्द्र राई

मानेभञ्ज्याङ, भोजपुर : रामप्रसाद राई गाउँपालिका-५ मानेभञ्ज्याङ भोर्लेनीका ६४ वर्षीय केशर पराजुली घर, जग्गाजमिन त्यसै छाडेर सुनसरीको तरहरा बसाईँ सरेका छन्। उनी ०७४ साल मंसिरबाट त्यहाँ बसाइ सरेका हुन्।गाउँका पानीका मुहान रित्तिन थालेपछि उनी पशुचौपाया समेत बेचेर गाउँबाटै पन्छिएका हुन्।

सोही गाउँका अर्का ४७ वर्षीय दीपक तामाङ पनि श्रीमती, १ छोरी र ४ भाइ छोरो लिएर गत फागुनतिर कालीबञ्जार झरे। वर्षेनी सुख्खाले कुनाकन्दराका स-साना पानीका मुहान एकपछि अर्को गर्दै सुक्न थालेपछि दिपक पनि गाउँ छाड्ने विकल्पमा पुगेका हुन्। मानिसलाई नै खानेपानी पुग्न छाडेपछि वस्तुभाउ र खेतिपाति गर्न कुनै सीप नचलेपछि घरै ताल्चा ठोकेर मधेश झर्न बाध्य भएका हुन्।

यी दुई त ज्वलन्त उदाहरण मात्रै हुन्। मानेभञ्ज्याङमा वर्षेनी खानेपानीको हाहाकार मच्चिने गरेको छ। खानेपानी समस्याका कारण मानेभञ्ज्याङका भोर्लेनी, अर्चलेका करिब ६१ घरपरिवार खानेपानी समस्याकै कारण विस्थापित भएका छन्।बसाइ सरेकाका घर पुराना र जीर्ण बनेका छन्। झारपातले बेबारिसे बनेका धेरै वस्ती खण्डहर बनेका छन्। गाउँका सबै कुवा, कुलेसालगायत खानेपानी मुहान सुकिसकेका छन्। 

राष्ट्रपति विद्यादेवी भण्डारी पनि मानेभञ्ज्याङमै जन्मिएकी हुन्। राष्ट्रपतिकै गाउँमा वर्षेनी खानेपानीको अनिकालले सताउने गरेको छ। ०७२ सालको विनाशकारी भूकम्प र खडेरीले वर्षौदेखि पिउँदै आएको खानेपानीका श्रोतहरु क्रमशः सुक्न थालेका छन् ।

प्रकाशित मिति: : 2019-06-11 14:37:23

प्रतिकृया दिनुहोस्