पञ्चासेमाथि घाम पहेलै भैसकेको थियो। म गाडीबाट ओलिएँ।
गाडीबाट भर्खरै ओर्लिएकाले हुनुपर्छ, लुम्ले हुँदै बगेर आउने चिसो स्याँठले आँत नै हरर बनायो। बेँशिमा गोठालो सकेर छोरा मान्छेहरु मास्तिर उक्लिदै थिए। वरपरका पसलेहरु निकै चनाखो बन्दै थिए। कोही नयाँ मान्छे देख्यो कि पसलमा छिर्छ कि भनेर होला ! पर पुगुञ्जेलसम्म पनि टुलुटुलु हेर्दै बस्थे।
एक वर्ष अघिकोे कुरा हो, यो।
२ दिने पञ्चासे ट्रेकिङको योजना बनाएर घुर्मैलो साँझमा म भदौरे पुगेको थिएँ। हरिचोकबाट दिउँसो २ नबज्दै गाडी चढेको भदौरे पुग्दा घाम डुब्नै आँटेको थियो। दसैंअघि नै पञ्चासे जाने योजना बनाएका थियौँ। तर, म तिहारपछि भदौरे पुगेको थिएँ।
मेरा आत्मिय मित्र दिवस गुरुङको गाउँ हो, भदौरे। उनैले बनाएका थिए पञ्चासे ट्रेकिङको योजना पनि। दिवस जी पनि भैसी गोठालो सकेर हतार हतार मलाई लिन आएका रहेछन्।
उस्तै हँसमुख स्वभावमा दिवस जी ले आफ्नो गाउँमा आत्मियता दर्साए।
कोरोनाकालदेखि दिवस जी भदौरेमै थिए। बेलाबेला पोखरा झरिराख्थे। चिया भेटघाटमा डाँक्थे। दिवस जी राम्रा पदप्रदर्शक पनि हुन्। कोरोनाले ठप्प पदयात्रा खुलेपछि उनी त्यतै व्यस्त छन्, अचेल।
000
गाडीबाट ओर्लेपछि करिब ५ मिनेटको बाटो पैदल हिड्यौँ। बाटोबाट खेतका गरा हुँदै ३ मिनेट जति उक्लेपछि दिवस जी को घरमा पुग्यौ। ढुंगाको छानोले छाएको कस्तो चिटिक्को रहेछ दिवस जी को घर त। दिवस जी को घरले एकै छिन मोहित पार्यो।
आँगनको डिलमा उभिएर भाले बाँस्यो। कुखुराको चल्लाले पँखेटा फिँजाएर चल्लाहरुलाई सक्दो न्यानो बनाउन खोज्दै थियो। यस्ता घरहरु सितिमिति देख्नै पाइन्न। क्यामेरा झिकेर क्लिक क्लिक पारें।
घरमा दिदी र भान्जाभान्जीहरु मात्रै थिए। बा’आमा खेतबाट आउनु भएकै थिएन।
धत्त !
कति हुस्सु म। केटाकेटीलाई चकलेट पनि नबोकी आएँ छु।
एकै छिनमा बाआमा आईपुग्नुभयो। मैले नमस्ते भनें। उहाँहरु दुवै जनाले गुरुङ लवजमा मेरो नमस्तेको प्रत्युत्तर दिनु भयो।
दिवस जी जस्तै बाआमा पनि उस्तै हँसिला। कस्तो खुलेर कुरा गर्ने। भान्जाभान्जी बाजे बज्यैको काखमा लुटपुटिदै थिए। उहाँहरुसँग कुराकानी हुँदै गर्दा मलाई पनि आफू यहाँ नौलो हुँ जस्तो लागेन। म पनि विस्तारै उहाँहरुसँग खुल्दै गएँ।
रात झमक्कै छिप्पि सकेको थियो। आकाशमा एक निगालोमाथि जुन उदाई सकेको थियो। पोखराभन्दा भदौरे एकदमै जाडो रहेछ। अघि फुकाएको हाइनेकमा बस्दाबस्दै ज्याकेट पनि थप्नुपर्ने भयो।
‘भान्सा तयार भयो,’ दिदीले खाना खान बोलाउनु भयो।
सबै जना भान्सामा छिर्यौं। दिदीले घरका सबै जनाका लागि कोदोको ढिडो तयार पारे पनि मेरो लागि भात नै तयार पार्नुभएछ। सानो छँदा आमाले कहिलेकाही बनाउनुहुन्थ्यो। आजभोलि घरमा पनि बन्दैन ढिडो।
मैले पनि ढिडो खाने रहर गरें।
गाउँमै जन्मे/हुर्केको मलाई ढिडो खान कम्ति सकस परेन। थालबाट टिप्न खोज्दा थालमै टासिने। बल्लतल्ल हातमा लियो। हातमै टाँसिने ! मैले ढिडो खान नजानेको देखेर सबै जना मज्जैले हाँस्नु भयो। मैले पहिलो चोटी भदौरेमा ढिडो खाएँ।
बिहान सबेरै उठेर पञ्चासेको बाटो नाप्ने हाम्रो पहिलेदेखिको योजना। घाम नउदाउँदै अलिकति उचाईमा पुग्न सके पनि सूर्योदय राम्रो देख्न पाइने लोभले हामीले यस्तो योजना बनाएका थियौं। त्यसमाथि साँझको बास बस्न भदौरेमा आइपुग्नु थियो।
त्यो साँझ हामी अलि छिट्टै निदायौं।
000
अबेरसम्म निदाइएला भन्ने डरले मोबाइलमा पाँच बजेको अलार्म सेट गरेर सुतेका थियौं। बाटोमा के के चाहिन्छ ? दिवस जी ले सुत्नुअघि नै ठिक पारेका थिए। बिहान चिया उमालेर थर्मसमा लैजाने बाहेकको सबै काम बेलुकै सकिएको थियो।
अलार्म बजेपछि दिवस जी चिया उमाल्न थाले। म बिस्तरामै थिएँ।
हाम्रो यात्राको अर्को सहयात्री थियो, भाइ सुरेश बिक। म सँग त उसको पहिलो भेट। बाटोमा भेटिने सल्लाह भएको थियो, फोनमा। बाटोमा कुरिराख्नु भन्दा घरमै पुगेर सँगै जानु बेस ठानेर सुरेश भाई आएछ।
छिटो छिटो भन्दाभन्दै घरबाट निस्किदा ६ बँज्न १५ मिनेट मात्रै बाँकी थियो।
000
घरबाट निस्किदा उज्यालो भएकै थिएन।
टर्च बालेरै घरबाट निस्कियौं। सूर्योदय हेर्न चाँडै उचाईमा पुग्नु थियो। हाम्रा पाइलाले लामो लामो वेग हान्दै थिए। मोटर गुड्ने बाटो सकिएर उकालो सुरु नहुँदै मलाई पसिनाले ढाकी सकेछ। श्वास पनि फुल्न थाल्यो।
पुट्ट निस्किएको भुँडी र मोटोपनको बेफाइदा मैले बल्ल महसुस गरें। घरबाट निस्किदासम्म अघिअघि लम्कि रहेको, म। सबैभन्दा पछि परें। श्वास साह्रै फुलेपछि साथीहरुलाई पनि हिँडाइको गति कम गर्न लगाएँ।
000
हिँड्दाहिँड्दै फेवातालमाथि सूर्योदय देखियो।
फेवातालको सिरानबाट एकैछिन सूर्योदय निहार्यौ। दिवस जी ले ब्यागबाट क्यामेरा झिकेर क्यामेरामा कैद गर्न थाले। दुवै जनाले पालैपालो सुनराइजलाई क्यामेरामा निकाले। मेरो श्वास फुल्न रोकिएको थिएन। मैले आँखैमा कैद गरें।
जाडो होला भनेर टिर्सटमाथि टिसर्ट खप्टाएर हाइनेकमाथि स्वेटर लगाएको थिएँ। पसिनाले भित्र पट्टीको सबै कपडा निथ्रुक्कै भिजी सकेको थियो। माथि–माथि उचाईमा पुग्दा शरीरमै पसिना सुकाउनु हुन्न रे ! यो मैले नर्थ अन्नपूर्ण बेसक्याम्प जाने बेला थाहा पाएको थिएँ। पसिना ज्यानमै सुक्दा बीच बाटोबाटै फर्किएको थिएँ। झण्डै ज्यान नै जोखिममा परेको थियो। अब पनि किन उही गल्ति दोहोर्याउथे !
पसिनाले भिज्ने बित्तिकै कपडा फेर्दै अघि बढ्यौं।
दिवस जी र सुरेश अघि–अघि। दुवै जनालाई पछ्याउँदै म पछि–पछि।
बनै बनको बिचमा ढुंगाले छापेको बाटोमा अघि बढी रह्यौं। कुनै सर्रियल उपन्यासको प्लट जस्तै लाग्यो। त्यो निर्जन वनमा हाम्रा पैतालाका डोबहरु छोड्दै अघि बढी रह्यौं।
000
पञ्चासे ताल पुग्दा बिहानको दश बँज्नै आँटेको थियो।
बिचमा एक कप चिया र बिस्कुट खाएका थियौं। भरे फर्किन ढिला हुन्छ भनेर साथीहरुले अत्याई रहें। धन्न १ बाटोमा लट्ठी भेटिएको थियो र केही सजीलो भयो।
पञ्चासे तालमा खाजा खाएर २ घण्टा लाग्दो रहेछ टुप्पोमा पुग्न। कोरोना महामारी नभएको भए त्यो समयमा ठूलो मेला लाग्दो रहेछ। ब्रतालुहरु पूजा गर्न यो तालसम्म पुग्दा रहेछन्। तालमा करिब ३० मिनेट रोकियौं। त्यसपछि अघि बढ्यौं। पञ्चासे तालमा हामीले फोटोहरु पनि लिएका छौं।
000
एक दुई महिना ढिला गएको हुन्थ्यौं भने हिउँमाथि लुकामारी खेल्न पाइने रहेछ। हामी अलि छिटै पुग्यौं। बाइसे चौबिसे राज्यको भग्नावशेषदेखि बौद्ध मूर्तिहरु पनि पञ्चासेमा स्थापना भएका रहेछन्।
क्या गजब !
पञ्चासेमा बाहिरबाट आउने पाहुना बस्ने कटेज बनाइएको रहेछ। क्याम्पिङ गर्दै यहाँको मज्जा लिन पाइएन। हामी फर्कि हाल्यौं।
उकालो त जेनतेन चढेको थिएँ। ओरालो ओर्लदा झनै सकस भयो।
बाफ्रे !
खुट्टै ननुग्ने। धन्न ! यै लौरी रहेछ र !
000
त्यो दिन झण्डै २० किलोमिटर पैदल हिँडियो। बेलुकी ६ बजे पञ्चासेबाट भदौरे झरेका थियौं। भञ्ज्याङ हुँदै झरेर चिया पिउन पाइन्छ कि भन्ने लोभ थियो। तर, कोरोनाको बहाना बनाएर कसैले चिया पिउन दिएनन्।
भदौरे आइपुग्दा आफ्नो शरीर धान्न सक्ने अवस्थामा म थिइनँ। पैताला, हात, खुट्टा पूरै शरीर करकरी खाईरहेको थियो। मेरो गतिमा हिँडेको भए त सायद, ट्रेकिङ लम्बिन सक्थ्यो। टुप्पोमा पुगेर फर्किने भनेरै निस्केका थियौं। फर्कियौं।
अहिले पञ्चासेलाई मनभरि मिस गर्दै छु।
ए, अँ साँच्ची
एकैछिन थकाई मारौं न भनेर बिन्ति चढाउँदा पनि एक्लै छोडेर बुकुर्सि मार्ने दिवस जी र सुरेश भाईलाई मार्दिनु जस्तो रिस उठेको थियो, त्यो दिन। यो ब्लग लेख्दै गर्दा लभ यू वाला फिलिङ आइ दि रा !
न मरे बाँचे कालै ले साँचे फेरि जाऔंला नि त !