एसिड पीडित बालिका मुस्कानको उपचारका लागि डाक्टर मैनालीले दिए एक लाख सहयोग

तस्बिरः बिएल

एसिड आक्रमणबाट गम्भीर घाइते मुस्कान खातुनको उपचारका लागि भन्दै डाक्टर सुयोग मैनालीले १ लाख रूपैयाँ सहयोग गरेका छन्।

सोमबार मुस्कान उपचाररत अस्पताल कीर्तिपुर पुगेर मैनालीले उक्त रकम उनकी आमालाई हस्तान्तरण गरेका हुन्।

यसअघि नेकपा प्रदेश नम्बर २ का अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रभु साहको पहलमा मुस्कानको उपचारका लागि संकलित ५५ हजार  रूपैयाँ परिवारलाई हस्तान्तरण गरिएको थियो।

यस्तै समाजवादी पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं प्रदेश न.२ का मुख्यमन्त्री लालबाबु राउत र पर्सा क्षेत्र न.१ का सांसद प्रदिप यादवले अस्पतालमै गएर मुस्कानलाई भेटी उपचारको सम्पूर्ण जिम्मा आफूहरूको भएको बताएका थिए।

मुख्यमन्त्री राउत र सांसद यादवले उनको उपचारमा कुनै कमि हुननदिन अस्पताल प्रशासनलाई निर्देशन दिएका थिए।

सांसद यादवले बालिकाको उपचारका लागि भन्दै यस अघिनै ५० हजार रकम सहयोग गरेका थिए।

शुक्रबार बिहान करिब ६ बजेतिर दुई युवाले वीरगञ्जको गणेशमान चोकमा खातुनमाथि एसिड प्रहार गरेका थिए।

रेशमकोठीस्थित त्रिभुवन हनुमान उच्च मावि कक्षा ९ मा अध्ययनरत वीरगञ्ज-३ श्रीपुर निवासी रसुल अन्सारीकी छोरी १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार भएको हो।

एसिडले पोलेर उनी चिच्याउन थालेपछि स्थानीयले अस्पताल पुर्‍याएका थिए। उनको अनुहार, हात र शरीरको केही भाग जलेको छ। नारायणी अस्पतालमा प्रारम्भिक उपचार गरेर उनलाई काठमाडौं ल्याइएको छ र कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।

यो पनि हेर्नुहोस्

मुस्कानका बाबुका दुःख- मसालेदार समाचार बनाउनेले हैरान बनाए (भिडियोसहित)

एसिड पीडित मुस्कानको अस्पतालबाट सरकारलाई आग्रह–दोषीलाई घण्टाघरमा झुण्ड्याएर मारियोस् (भिडियाे सहित)

प्रकाशित मिति: : 2019-09-09 19:37:18

प्रतिकृया दिनुहोस्