भारतबाट आउने मालबाहक ट्रकलाई चेकजाँच नगर्न गृहमन्त्रीको आदेश

केदार दाहाल

काठमाडौं, जेठ २६ : भारतबाट आउने ठूला मालबाहक ट्रकमाथि निगरानी नराख्न गृहमन्त्रालयले स्थानीय प्रशासनलाई निर्देशन दिएको छ। 

भारतसँग सीमा जोडिएका तराईका २२ जिल्लाका प्रशासन प्रमुखलाई पत्र पठाउँदै गृहले यस्तो निर्देशन दिएको हो। गत जेठ २ गते जारी गरिएको परिपत्रको बोधार्थ नेपाली प्रहरी र सशस्त्र प्रहरीलाई पनि दिइएको छ। 

यस विषयमा गृहमन्त्री रामबहादुर थापाले गत वैशाख २७ गते मन्त्रिस्तरीय निर्णय गरेका थिए। त्यही निर्णयको आधारमा मन्त्रालयले मोरङ, झापा, सुनसरी, धनुषा, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा, मकवानपुर, चितवन, पूर्वी नवलपरासी, पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके वर्दिया, कैलाली र कञ्चनपुरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र पठाएको हो। 

काठमाडौं प्रेसलाई प्राप्त परिपत्रमा भारतबाट कच्चा पदार्थ बोकी आउने मालबाहक ट्रक र ट्रेलरहरूलाई नेपाल प्रवेश गर्ने नाकादेखि उद्योग स्थलमा ल्याउँदासम्म ट्राफिक प्रहरीले ओभरलोड भनेर समाती दुःख दिने, जरिवाना तिराउने, हैरानी दिने र २–३ दिनसम्म होल्डमा राख्ने गरेको र त्यसकारण उद्योगले अनावश्यक हर्जाना तिर्नुपरेको गुनासो आएकोले  नियामक निकायको समन्वय र अनुरोधबिना त्यस्तो काम नगर्न निर्देशन दिइएको छ।  

 

गृहको परिपत्रमा भनिएको नियामक निकाय हो – सडक विभाग । 

प्रकाशित मिति: : 2019-06-10 11:48:58

प्रतिकृया दिनुहोस्