भारतबाट २१ अर्बको विद्युत् आयात

तस्बिरः नयाँ पत्रिका

नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ हटाउन भारतबाट आयात गर्न थालेको विद्युत् परिमाण हरेक वर्ष बढ्दै गएको छ । गत आर्थिक वर्ष भारतबाट १८ अर्ब ४१ करोडको रुपैयाँबराबरको विद्युत् आयात भएकोमा चालू आर्थिक वर्ष २१ अर्ब पुग्ने अनुमान प्राधिकरणको छ । चालू आर्थिक वर्षको १७ जेठसम्म १७ अर्ब ७९ करोड रुपैयाँको विद्युत् आयात भइसकेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए । 

यद्यपि, यसमा दार्चुला र बैतडीमा भारतबाट आउने १ मेगावाट, उत्तर प्रदेशबाट नेपालगन्जमा आउने १० मेगावाट र बिहारबाट आउने गरेको ३ सय मेगावाट विद्युत्को केही भारतले नपाठाएको उनले बताए । ‘अहिलेसम्म करिब १८ अर्बको आयात भइसकेको छ र अझै ३ अर्ब रुपैयाँको आयात थपिने अनुमान हामीले गरेको छौँ,’ उनले भने, ‘विद्युत् पहुँच बढ्दै जाँदा आयात गरिएको विद्युत्को परिमाण र आयात गरिएको विद्युत्को प्रतियुनिट औसत दरसमेत बढेकाले  भुक्तानी रकम बढी देखिएको छ ।’ नेपालमा विद्युत् पहुँच पुग्ने जनसंख्या बढेर झन्डै ७८ प्रतिशत पुग्दा विद्युत् खपत पनि बढेको छ,’ प्रवक्ता अधिकारीले भने, ‘आयात गर्ने विद्युत्को प्रतियुनिट औसत दरसमेत बढेको छ ।’

गत आर्थिक वर्षमा १३२ केभी क्षमतामा ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन सञ्चालन गरिएको थियो । त्यसताका उक्त लाइनबाट १६० मेगावाटसम्म विद्युत् आयात हुँदै आएको थियो । तर, चालू आर्थिक वर्षमा उक्त लाइन २२० केभी क्षमतामा सञ्चालनमा आएपछि २ सय ४० मेगावाटभन्दा बढी विद्युत् आयात भइरहेको छ । नेपालमा विद्युत् बढी खपत हुने समय हिउँदका महिनामा भारतबाट ५ सय ५० मेगावाटभन्दा बढी विद्युत् आयात भएको थियो । यसले गर्दा पनि कुल आयात बढी देखिएको छ । ‘चालू आर्थिक वर्षको अन्त्यसम्म निजी क्षेत्रबाट निर्माण भइरहेको आयोजनाबाट १ सय ५८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा थप हुने आकलन गरेका थियौँ,’ उनले भने, ‘तर, असार मसान्तसम्म निजी क्षेत्रबाट करिब ७० मेगावाट मात्रै राष्ट्रिय प्रसारणमा जोडिने देखिएको छ ।’ प्राधिकरण र सरकारी कम्पनीहरूले प्रवर्द्धन गरेका आयोजनासमेत निर्माण ढिलो भएको उनले बताए । प्राधिकरणले असार मसान्तसम्म माथिल्लो त्रिशूली ३ एबाट ६० मेगावाट र कुलेखानी तेस्रोबाट १४ मेगावाट गरी कुल ७४ मेगावाट थपिने लक्ष्य राखेको छ ।

प्रकाशित मिति: : 2019-06-06 10:11:31

प्रतिकृया दिनुहोस्