बेरुजुका कागज मिलाउन देशभर गोष्ठी

तस्बिरः अन्नपूर्ण पोष्ट

बेथितिको पराकाष्ठा

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बेरुजु २० अर्ब ६२ करोड रुपैयाँ छ। अनियमित तवरबाट गरिएका यस्ता बेरुजु खर्च असुल गर्न महालेखापरीक्षकको कार्यालयले बारम्बार ताकेता गर्‍यो। तर बेरुजु फर्स्योट गर्ने नाममा मन्त्रालयले फेरि अर्काे अनावश्यक खर्च गर्दै छ– बेरुजुका कागजात जुटाउने गोष्ठीमा।

मन्त्रालयको बेरुजुमध्ये १६ अर्ब ५३ करोड साबिकका जिल्ला विकास समिति र स्थानीय पूर्वाधार कार्यालयको हो। ७७ जिससमध्ये ७५ को बेरुजु छ। ‘बेरुजु फर्स्योट’ शीर्षकको गोष्ठीमा कम्तीमा २० लाख रुपैयाँ खर्च गरिन लागेको छ। धनगढी, नेपालगन्ज र सुर्खेतमा गोष्ठी भइसकेको मन्त्रालयका लेखा प्रमुख लक्ष्मी निरौलाले जानकारी दिए। उनका अनुसार ७ गोष्ठीका लागि २० लाख खर्च गरिँदै छ।

पोखरामा जेठ २३–२४, विराटनगरमा जेठ ३०–३१, बर्दिबासमा जेठ ३२–१ असार र धुलिखेलमा असार १२–१३ गोष्ठी हुँदै छ। मन्त्रालयअन्तर्गतको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसीडीपी) को खर्च बेरुजु देखिएपछि फर्स्योट गर्न सकस भएको हो। गोष्ठीमा जिल्ला समन्वय अधिकारी, प्रदेश जिल्ला समन्वय समितिका लेखा अधिकारी र मन्त्रालयका अधिकारी सहभागी हुनेछन्।

प्रकाशित मिति: : 2019-06-06 10:08:35

प्रतिकृया दिनुहोस्