आरुबोटे नरसंहार-३ : हत्याअघि मानबहादुरको त्यो कल– एउटैले २० जना मार्न सक्छ!

एकै व्यक्तिले ९ जनाको हत्या गर्न सक्छ? त्यो पनि सवा घन्टाबीचमै। पाँचथरको मिक्लाजुङ गाउँपालिका-३, आरुबोटमा यस्तै घटना भयो गत जेठ ६ गते। ९ जनाको हत्या घटनामा एक जना संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

प्रहरीको भनाइ अनुसार बमबहादुर फियाक र धनराज शेर्मा (ससुरा-ज्वाइँ) का परिवारका ९ जनाको हत्यामा बमबहादुरकै ज्वाइँ मानबहादुर माखिमको हात रहेको देखिन्छ।

जेठ ६ गते राति भएको उक्त नृशंस हत्याकाण्डमा मानबहादुर कसरी यतिसम्म क्रूर बन्न सके होलान्? प्रहरीले अनुसन्धान सकिसकेको छैन। उक्त घटनाको यथार्थ बुझ्न नेपाल लाइभ टिम घटनास्थल आरुबोटे नै पुगेको थियो। हामीले उक्त घटनाका लगभग सबै पक्षको रिपोर्टिङ गरेका छौं। पारिवारिक सम्बन्ध, आर्थिक लेनदेन, सामाजिक कारणसमेत खोतलेका छौं। मानबहादुरको व्यवहार, मनोदशा र विगत कस्तो थियो भन्नेबारे पनि शृंखलाबद्ध रुपमा प्रस्तुत गर्ने नै छौं।

अघिल्लो शृंखलामा यो घटनामा जोडिएको भनिएको सिसाकाण्डमा मानबहादुरको संलग्नता कति थियो भन्ने विषयलाई केन्द्रमा राखेका थियौं। 

हत्या घटना भएको दिन मानबहादुर गतिविधि कस्तो थियो? किन उनी विराटनगर जान्छु भनी घरबाट बिदा भएका थिए? भिनाजुलाई उनले फोनमा गरेको अस्वाभाविक कुराकानी नै घटनाको संकेत थियो त? यो शृंखलामा यिनै विषयहरु समेटिएका छन्।

OOO

सिसाकाण्डका बारेमा प्रहरीले मिक्लाजुङ गाउँपालिका–७ का स्थानीय मानबहादुर माखिममाथि सूक्ष्म निगरानी गरिरहेकै थियो। उनीमाथि आशंका गरिए पनि यथेष्ट प्रमाण भने जुटिसकेको थिएन।

विभिन्न कोणबाट प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा मानबहादुर जेठ ५ गते आफ्नो घर लिम्बाङ्देन पुग्छन्। पाँचथरकै एक खानेपानीको नाला खन्ने काममा गएका मानबहादुर 'खाने सामान पनि सकियो, बर्खा पनि लाग्यो, घर गएर धानको बिउ राख्नुपर्ला अनि सामल लिएर काममा फर्किनुपर्ला' भनेर घर जान्छन्। 

९ जनाको हत्या भएको ठाउँ आरुबोटेबाट उनको घर जान करिब ३ घन्टाको पैदल जानुपर्छ। खासै खुलेर नबोल्ने मानबहादुर त्यसदिन खान खाएर छिट्टै सुत्छन्।

जेठ ६ गते बिहान उठेर एक कचौरा तातो पानी पिएको उनकी आमा फूलकुमारी माखिम बताउँछिन्। मानबहादुरले खाना थोरै खान थालेको थालेको धेरै भइसकेको थियो। घटना भएको दिन जेठ ६ गते पनि उनलाई पस्केर दिएको खाना थोरै खाएर बाँकी छाडेका थिए। 

मानबहादुरका आमा-बा।

त्यसपछि भने उनको योजनाले एकाएक १ सय ८० डिग्रीको फन्को मार्छ। केही अघिसम्म धानको बिउ राख्न जाने बताउने मानबहादुरको योजना एकाएक परिवर्तन हुन्छ। 

मानहादुरको टर्निङ पोइन्टबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपी नरेन्द्र कुवँर सुनाउँछन्, ‘बिउ राख्न भन्दै घर पुगेका उनले परिवारसँग औषधि सकियो, बिमारले पनि च्याप्यो। औषधि लिन विराटनगर जान्छु भनेका रहेछन्।'

प्रकाशित मिति: : 2019-06-05 14:15:17

प्रतिकृया दिनुहोस्