विराटनगरका मेयरको बदमासी : तलब र नियुक्तिपत्र बिना काम गर्न बाध्य कर्मचारी

तस्बिरः नेपाल लाइभ

विराटनगर– विराटनगर महानगरपालिकाका १४ कर्मचारीहरु तलब र नियुक्तिपत्रबिनै काम गर्न बाध्य भएका छन्। २०६८ सालदेखि सहरी स्वास्थ्य केन्द्रमार्फत काम सुरु गरेका ती कर्मचारी अझैसम्म नियुक्तिपत्र बिनै काम गर्न बाध्य भएका हुन्। 

चौथो तहको कर्मचारीका रुपमा काम सुरु गरेका उनीहरुले अहिलेसम्म तह अनुसारको सेवा सुविधा पनि नपाएको बताए। चौथो तहका कर्मचारीले २२ हजार १ सय ५० रुपैयाँ तलब पाउने व्यवस्था छ। 

अघिल्लो आर्थिक वर्षसम्म उनीहरुले १२ हजारमा सेवा गरिरहेका थिए। ०७५/७६ बाट मासिक १६ हजार ५ पाउने व्यवस्था महानगरले मिलाएको थियो। तर ५ महिनायता तलबबिनै काम गरिरहनुपरेको उनीहरु बताउँछन्। 

‘यत्तिका वर्ष काम गर्दा पनि महानगरले अझैसम्म नियुक्तिपत्र दिएको छैन,’ नाम नखुलाउने सर्तमा एक कर्मचारीले भने, ‘मेयरको आफ्नो हठको कारण तलब र सुबिधाबाट हामी वञ्चित भइरहेका छौं।’

महानगरका मेयरले आलटाल गरेको कारण सम्झौता हुन नसकेको कर्मचारीहरुको भनाइ छ। 

यता, आर्थिक वर्ष २०७५/७५ मा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत सोही तहमा काम गरिरहेका कर्मचारीले भने २२ हजार १ सय ७० रुपैयाँ पारिश्रमिक पाइहेका छन्। काम सुरु गरेको केही दिनमै नियुक्तिपत्र पाएका उनीहरु अहिले बिनाकाम बसिरहेका छन्। 

प्रकाशित मिति: : 2019-06-04 14:56:42

प्रतिकृया दिनुहोस्