सगरमाथाको चुचुरोमा घन्टौं जाम !

तस्बिरः एजेन्सी

१० जेठ, काठमाडौं । हिमाल आरोहणको सिजन सुरु भएसँगै भनियो, ‘यो पटक सगरमाथामा ट्राफिक जाम छ ।’ सामान्यतः मौसम राम्रो भएका बेला हिमाल चढ्न चाहनेहरु धेरै हुने भएकाले त्यसलाई सांकेतिक रुपमा ट्राफिक जाम भनिएको हो ।

तर, आरोही निर्मल पूर्जाले खिचेको एउटा तस्वीरले धेरैलाई सोच्न बाध्य बनायो, ‘के यो साँच्चै हो ?’

प्रश्न नगरुन पनि किन ? तस्वीरमा सगरमाथाको शिखरमा पाइला टेक्न चाहने आरोहीहरुलाई निकै लामो लाइन देखिन्छ । तर, यो तस्वीर वास्तविक भएको सरकारी अधिकारीहरुले बताएका छन् ।

पूर्वबेलायती सैनिक समेत रहेका म्याग्दीका पूर्जाले ‘प्रोजेक्ट पोसिबल–१४/७’ अभियानका दौरान सगरमाथा आरोहण गरेका हुन् ।

८ हजार मिटरभन्दा अग्ला १४ हिमाल एकै सिजनका ७ महिनामा आरोहण गर्ने लक्ष्य लिएका उनले ८ जेठमा सगरमाथाको सफल आरोहण गरेका छन् ।

उक्त दिन सगरमाथा चुचुरो चुम्ने आरोहीको यति ठूलो लाइन बन्यो कि झण्डै ‘क्याम्प ४’ देखि चुचुरोसम्म आरोहीको बाक्लो लाइन देखिन्छ ।

सगरमाथा आधार शिविरमा सरकारी टोलीका एक सदस्य तथा सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार ७ जेठसम्म करीव ६ सय आरोही चुचुरोसम्म जान उपयुक्त मौसमको पर्खाइमा थिए । ७ जेठको बिहानबाट मौसम अनुकुल भयो । आरोहण खुल्यो । ९ जेठमा सर्वाधिक आरोही सगरमाथाको चुचुरोमा पुगेको अनुमान छ । यद्यपि सबै आरोही कुन दिन चढे भन्ने यकिन तथ्यांक आइपुग्न भने केही समय लाग्ने पर्यटन विभागका निर्देशक सुरेन्द्र थापा बताउँछन् ।

प्रकाशित मिति: : 2019-05-24 14:39:06

प्रतिकृया दिनुहोस्