नेपाली कांग्रेसले भदौ २४ गतेदेखि दोस्रो चरणको जागरण अभियान सुरु गर्ने (भिडियो सहित)

तस्बिरः बिएल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भदौ २४ गतेदेखि दोस्रो चरणको जागरण अभियान सुरु गर्ने भएको छ।

पार्टी कार्यालय सानेपामा बिहिबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले दोस्रो चरणको जागरण अभियानको कार्यतालिका सार्वजनिक गरेको हो। १५ दिनसम्म सञ्चालन गरिने जागरण अभियानको १५ उद्देश्य रहेको र एकै दिन ३४ हजार ९ सय ८० बिरुवा रोपिने जानकारी पनि कांग्रेसले दिएको छ। कांग्रेसले जनतालाई सरकारका असफलताका बारेमा जानकारी दिन र सामाजिक सम्वादमार्फत जनमत बुझ्न पनि जागरण अभियान सञ्चालन गरेको बताएको छ। जागरण अभियानकै दौरान असोज ७ गते जिल्लास्तरीय विरोध प्रदर्शन गर्ने जनाएको छ। प्रदर्शनलाई बढ्दो महंगी, भ्रष्टाचार, महिला हिंसा, बलात्कार र हत्या अलोकतान्त्रिक विधेयकविरुद्ध केन्द्रित गरिनेछ प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

यसैगरी जागरण अभियानमार्फत पार्टीमा नयाँ सदस्यता व्यापक वितरण गरी सदस्य संख्या बढाउने र आपत विपतका बेला पार्टीको स्वयंसेवक दल गठन गर्ने उद्देश्य पनि कांग्रेसले राखेको छ। साथै अभियानबाट सहिद परिवारको घरघरसम्म पार्टीलाई र्पुयाएर उनीहरुको पीरमर्का सुन्ने र सुझाव लिने प्रवक्ता शर्माले बताए।

पत्रकार सम्मेलनमा काग्रेसका उपसभापति विमलेनद्र निधिले दोस्रो चरणको जागरण अभियानका क्रममा काग्रेस एकढिक्का भएको सन्देश पनि प्रवाह गर्ने बताए। पत्रकार सम्मेलनमा कांग्रेसका नेताहरुले पार्टीको पहिलो चरणको जागरण अभियानका दौरान ३१ हजार ६ सय ४४ जनाले पार्टीको सदस्यता लिएको जानकारी दिएका थिए। उनीहरुले दोस्रो चरणमा अझै बढी व्यक्तिले कांग्रेसको सदस्यता लिने विश्वास व्यक्त गरे।

दुई तिहाईको कम्युनिस्ट सरकारले शासन सम्हालेको दुई वर्ष समेत पुग्नु अघि नागरिक पंक्तिमा सरकारप्रति आशा, विश्वास र भरोसा हट्दै गएर एक ढंगको वितृष्णा समाजमा बढ्दै गएकाले यस्तो परिस्थितिमा जागरण अभियानको क्रममा कांग्रेस देशव्यापी रूपमा समाजिक संवादमा सहभागी हुने प्रवक्ता शर्माले बताए।

प्रकाशित मिति: : 2019-09-05 18:52:27

प्रतिकृया दिनुहोस्