उपनिर्वाचनका लागि दल दर्ता आह्वान

तस्बिरः बिएल

आगामी मंसिर १४ का लागि तय स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको छ।

आयोगले सोमबार सूचना जारी गर्दै नयाँ दलका लागि दर्ता आह्वान गरेको हो।

नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १० मा निर्वाचन पूर्व दल दर्ता गर्नुपर्ने व्यवस्था छ । यही व्यवस्थाअनुसार उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरिएको आयोगले जनाएको छ ।

आयोगले उप–निर्वाचनमा भाग लिन इच्छुक दललाई दर्ताका लागि भदौ मसान्तसम्मको समय दिएको छ। यो अवधिमा दलको लेखापरीक्षणलगायतका आवश्यक कागजात पेस गरेर दर्ता प्रक्रियामा सहभागी हुन सबै दललाई आग्रह गरेको छ ।

आयोगका अनुसार, २०७४ को निर्वाचनमा सहभागी नभएका नयाँ दलका लागि मात्र दल दर्ता आह्वान गरिएको हो । यसअघिको निर्वाचनमा सहभागी भइसकेका दलले भने उपनिर्वाचनमा सहभागिताका लागि दल दर्ता गर्नुपर्दैन ।

यसअघि ०७४ मा तीन तहमा निर्वाचन भएको थियो । तर विविध कारणले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका ५० स्थानहरू हाल रिक्त छन्।

जनप्रतिनिधिविहीन बनेका स्थानमा उपनिर्वाचनमार्फत पूर्ति गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार निर्वाचन आयोगले आगामी मंसिर १४ गते निर्वाचन गर्ने घोषणा गरेको छ ।

प्रकाशित मिति: : 2019-09-02 09:13:17

प्रतिकृया दिनुहोस्