मुख्यमन्त्री लालबाबु राउतले भने- यहाँका छोरीहरू १० वर्षपछि कार्यालय प्रमुखको रुपमा पुग्नेछन्

तस्बिरः बिमला गुप्ता

प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले बालिकाको शिक्षामा जोड दिन अभिभावकसँग आग्रह गरेका छन्।

हालै प्रदेशमा गठन भएको लोक सेवा आयोगमा महिलाहरुलाई ५० प्रतिशत आरक्षण गरिएको र यसको परिणाम आगामी १० वर्षमा देखिने भएकाले बालिकाहरुको शिक्षामा बिशेष जोड दिनुपर्ने बताए।

‘बेटी बचाउ, बेटी पढाउ’ अभियान अन्तर्गत वीरगन्ज महानगरपालिकाको वडा नं. ५ बिर्तास्थित गणेशमान चौकमा रहेको श्री सुन्दरमल राम कुमार कन्या उच्च मा वि मा अध्ययनरत कक्षा ८ का १ सय ३ जना छात्रालाई बुधबार एक समारोह बिच साईकल वितरण गर्दै मुख्यमन्त्री राउतले  प्रदेश २ का प्रत्येक कार्यालय तथा निकायहरुमा आगामी १० वर्षपछि महिलाहरु कार्यालय प्रमुखको रुपमा पुग्ने अपेक्षा आफूले लिएको बताए ।

प्रदेश २ शिक्षा क्षेत्रमा पछाडि रहेको त्यसमा पनि महिला झन पछाडि परेको हुँदा शिक्षामा महिला सहभागिता बढाउन साईकल वितरण गरिएको मुख्यमन्त्री राउतले बताए ।

मुख्यमन्त्री राउतले प्रदेश सरकारले शिक्षामा महिलाको पहुँच बढाउन साईकल वितरण कार्यक्रमलाई प्राथमिकता दिएको बताउँदै सरकारले महिलालाई पढाउने मात्र नभई रोजगारीको ग्यारेन्टी समेत गरेको दाबी गरे।

उनले यस वर्ष छोरी शिक्षा बिमा कार्यक्रम अन्तर्गत ५ हजार छोरीको विमा भईसकेको समेत दाबी गरे।

मुख्यमन्त्री राउतले संघीय सरकारको शिक्षा नियमावली अहिले पनि एकात्मक रहेको बताउँदै देश संघीय प्रणालीमा भएको भए पनि  शिक्षाका सम्पूर्ण अधिकार प्रदेशले नपाएको गुनासो गरे।

साईकल वितरण कार्यक्रममा सांसद करीमा बेगम, बेटी बचाउ, बेटी पढाउ अभियानकि पर्सा जिल्ला प्रतिनिधि पुष्पा पाण्डे प्राध्यापक दिपक शाक्य तथा विद्यालयका प्रधानाध्यापक सुरेन्द्र कुँवरलगायतको उपस्थिति थियो।

यसअघि सोमबार ‘बेटी बचाउ, बेटी पढाउ’ अभियान अन्तर्गत पर्सा जिल्लाको पोखरीयामा रहेको जिल्ला उच्चांगल रामदेव साह कलवार उच्च माविमा अध्ययनरत १ सय ६३ जना छात्राहरुलाई मुख्यमन्त्री राउतले साईकल वितरण गरेका थिए।

प्रकाशित मिति: : 2019-08-28 17:43:19

प्रतिकृया दिनुहोस्