नेकपा सचिवालय बैठक, चार जनालाई केन्द्रीय सदस्यको जिम्मेवारी (भिडियोसहित)

तस्बिरः बिएल

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले देवेन्द्र पराजुलीसहित चार जनालाई केन्द्रीय सदस्यको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ।
सोमबार नेकपा पार्टी कार्यालय धुम्वाराहीमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षमा बसेको सचिवालय बैठकले देवेन्द्र पराजुली, कल्पना धमला, पदम राई र किरण राईलाई केन्द्रीय सदस्यको जिम्मेवारी प्रदान गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
समाजवादी पार्टी छाडी नेकपामा आएका चारै जनालाई असार २१ गते अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेका थिए। बैठकले पार्टीको धारणा सार्वजनिक गर्नुअघि तल्लो तहदेखि नै पार्टीमा छलफल गर्नुपर्ने निर्णय गरेको छ।
नेता तथा कमिटिहरुको विषयमा चित्त नबुझेका कुरा पार्टीमा छलफल नगरी सार्वजनिक गरे स्पस्टिकरणसहित आवश्यक कार्बाही गरिने प्रवक्ता श्रेष्ठले बताए। यसैगरी बैठकले केही इन्चार्ज र सहइन्चार्जको जिम्मेवारीसमेत हेरफेर गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा नेकपाका अर्का अध्यक्ष प्रचण्डले पहिलोपटक सचिवालय बैठक बोलाएका थिए। यसअघि प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर प्रस्थान गर्नुअघि महत्वपूर्ण सांठगनिक संरचनाबारे निर्णय भइसकेको छ। बाँकी काम टुंगो लगाउन प्रचण्डसहितका नेताहरुलाई जिम्मेवारी दिएर ओली बिहीवार सिंगापुर प्रस्थान गरेक थिए।
अब बस्ने सचिवालय बैठकमा प्रवास कमिटी, पोलिटब्यूरो गठन, केन्द्रीय सदस्यहरुको कार्यविभाजन लगायतका बिषयमा छलफल हुने प्रवक्ता श्रेष्ठले बताए।

प्रकाशित मिति: : 2019-08-26 15:28:09

प्रतिकृया दिनुहोस्