पूर्व बित्त मन्त्री तथा भाजपा नेता जेट्लीको अन्त्यष्टि आज

तस्बिरः एजेन्सी

भारतका पूर्व वित्त मन्त्री तथा भाजाप नेता अरुण जेट्लीको आइतबार अन्त्यष्टि गरिने भएको छ। ६६ वर्षीय जेट्लीको शनिबार दिउँसो नयाँदिल्लीको एम्स अस्पतालमा निधन भएको थियो।

उनको आज निगमबोध घाटमा अन्तिम संस्कार गरिने जनाइएको छ। जेट्लीलाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्थिव शरीर निवासमै राखिएको छ। बिहान १० बजे अन्तिम श्रद्धाञ्जलीका लागि भाजपाको कार्यालयमा राख्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। किड्नी ट्रान्सप्लान्ट गरेका उनलाई लाईफ सपोर्ट सिस्टममा राखिएको थियो।

जेट्लीलाई श्रद्धाञ्जली दिन राष्ट्रपति रामनाथ कोविन्द, अमित साह, राजनाथ सिंह, निर्मला सीतारमण, लालकृष्ण आडवाणी, मनमोहन सिंह, राहुल गान्धी लगाएतका नेताहरु निवासमा पुगेका थिए।

यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले जेट्लीको निधन प्रति दुःख व्यक्त गरेका छन्। बहराइनको भ्रमणमा रहेका मोदीले जेट्लीकी श्रीमती र छोरासँग कुरा गर्दै विदेश भ्रमण छोट्याउने बताएका थिए।

प्रधानमन्त्री नरेन्द्र मोदीका नजिकका सहयोगी रहेका ६६ वर्षीय जेटली सत्तारूढ भारतीय जनता पार्टी बीजेपीका वरिष्ठ सदस्य थिए।

जेट्लीलाई श्वास प्रश्वासमा समस्या देखिए पछि अगष्ट ९ तारिखमा एम्स अस्पतालमा भर्ना गरिएको थियो। उनको गत जनवरी १३ मा न्यूयोर्कबाट भारत फर्किएका थिए। विरामी भएकै कारण मोदीको पहिलो मन्त्री मण्डलमा सहभागि भएका जेट्लीको कार्यभार पियुष गोयलले सम्हालेका थिए।

अहिलेको सरकारमा पनि सहभागि गराउन खोज्दा जेट्लीले स्वास्थ्यको कारण देखाउँदै मन्त्री बन्न अस्वीकार गरेका थिए। उनी भाजपाले चुनावमा जित हात पार्दा पार्टी कार्यालय समेत पुग्न सकेका थिएनन्।

जेटली भारतका अर्थमन्त्रीका हैसियतमा दुई वर्षअघि नेपालमा लगानी सम्मेलनमा भाग लिन आएका थिए। त्यतिबेला उनले नेपालको आर्थिक विकासका लागि विविध क्षेत्रमा लगानी गर्न भारत सरकार प्रतिबद्ध रहेको बताएका थिए।

बीजेपीको पहिलो कार्यकालमा अर्थमन्त्रीको पद सम्हालेका जेटलीले भारत स्वतन्त्र भएपछि पहिलो पटक ल्याइएको वस्तु तथा सेवा कर लागु गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए।

यसै वर्ष पुन: चुनाव जितेपछि बनेको नयाँ सरकारका भने उनी आफ्नो स्वास्थ्य स्थितिका कारण सहभागी भएनन्। गत वर्ष उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो।

जेटली अर्थमन्त्री भएकै बेलामा प्रधानमन्त्री मोदीले रातारात ५०० र १,००० दरका भारतीय रुपैयाँका नोट वित्तीय प्रणालीबाट हटाउने निर्णय गरिदिएका थिए।

भ्रष्टाचार र नोटहरुको अवैध सङ्कलन रोक्न थालिएको नोटबन्दी भनिने त्यो कदमको असर भारतीय अर्थतन्त्र र वित्तीय प्रणालीमा मात्रै परेन। त्यसको असर नेपालमा पनि परेको थियो।

पेसाले वकिल रहेका जेटली सन् १९७० को दशकको अन्त्यतिर भारतको कलेज राजनीतिमा सक्रिय थिए।

उनी दिल्ली विश्वविद्यालयको विद्यार्थी युनियनको सभापति चुनिएका थिए।

प्रधानमन्त्री इन्दिरा गान्धीले सन् १९७५ देखि १९७७ सम्म लगाएको सङ्कटकालका बेला थुनिएका अभियानकर्ताहरू मध्येका उनी एक थिए।

सन् १९८९ मा भारतको अडिशनल सोलिसिटर जनरल नियुक्त भएका जेटली सन् १९९१ मा बीजेपीमा आबद्ध भएका थिए।

सन् २००२ मा उनी बीजेपीको महासचिव भए। त्यसपछि उनले पार्टीका प्रवक्ताको भूमिका समेत निर्वाह गरे।

 

प्रकाशित मिति: : 2019-08-25 08:58:34

प्रतिकृया दिनुहोस्