संसदमा रिजालकाे प्रश्नः प्रधानमन्त्रीज्यू, यस्तो काम देखेपछिअर्को पल्ट कांग्रेसबाहेक कसको सरकार बन्छ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता मीनेन्द्रप्रसाद रिजाल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता मीनेन्द्रप्रसाद रिजालले सरकारको कार्यशैली र जनतासँग गरेको कार्यसम्पादन करारमा सरकार पूर्णरुपले असफल भएको दाबी गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसदमा आगामी निर्वाचनसम्म आफ्नै नेतृत्वको सरकार रहने भनि दिएको अभिव्यक्ति लगत्तै सम्बोधन गर्दै नेता रिजालले यही कार्यशैली रहिरहे अर्कोपल्ट कांग्रेस बाहेक अरुको सरकार बन्नै नसक्ने दाबी पनि गरे।

प्रधानमन्त्री ओलीले सदनलाई सम्बोधन गरेलगत्तै संसदीय नियमावली बमोजिम पुरक प्रश्नोत्तरको समय दिनु पर्ने भए पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई ख्याल गरी सभामुखले पनि सांसदलाई समय नदिएको र सांसदहरुले पनि समय नमागेकोप्रति रिजालले व्यंग्यात्मक टिप्पणी गरे।

प्रतिनिधि सभाको बैठकमा आइतबार विशेष समय लिएर बोल्दै उनले प्रधानमन्त्री ओलीले आफूले लोकतन्त्रका लागि लडेको र आफ्नो प्रतिबद्धताप्रति शंका नगर्न गरेको आग्रहप्रति असहमति जनाउँदै भने, ‘लोकतन्त्र र वाम आन्दोलनका लागि एक चोटी लडेकाहरु पनि पञ्चायत पसे र घुँडा टेके।’

मिनेन्द्र रिजाल:

प्रधानमन्त्रीको सम्बोधनको क्रममा प्रमलाई स्वस्थ र तन्दुरुस्त देखेर म यति खुशी भएँ प्रश्न सोध्नै विर्सिएछ। अरु साथीहरुलाई पनि त्यस्तै परेछ। सभामुखले नियमावली अनुसार प्रश्नोत्तरको समय त पक्कै दिनु भएको थियो र सभामुखले नियमावली मिच्नुहुन्न भन्ने मलाई विश्वास छ, म भिडियो रेकर्ड पनि चेक गर्दिन।

लोकतन्त्रका लागि लडेको सरकार हो भन्नु भयो प्रधानमन्त्रीले, प्रधानमन्त्रीको वाम आन्दोलन, त्यसपछिको लोकतान्त्रिक आन्दोलन र संघर्षमा रहेको योगदानको सम्मान गर्छु। तर, सरकार लडेको होइन। भिन्नता, प्रधानमन्त्री ज्यू, हेक्का रहोस् सरकार लडेको होइन, लडेका मानिसहरुले बनाएको सरकार होला। तर, एकपल्टको लडाइले जीवन भरी जेपनि गर्नलाई लाइसेन्स दिँदैन।

हिजो प्रजातन्त्रका लागि लड्नेहरु पञ्चायतमा पनि गए। वाम आन्दोलनका लागि लड्नेहरु घुँडा टेके। तर, एउटा लडाइले सदैव त्यो अधिकार दिन्न।

एउटा कुरा खुशी लाग्यो, प्रधानमन्त्रीले भन्नु भयो, अर्को चुनाव नभएसम्म यहि सरकार रहन्छ। ठिक हो प्रधानमन्त्रीज्यू, यस्तो काम देखेपछि त अर्को पल्ट कांग्रेसबाहेक कसको सरकार बन्छ? यसपल्टसम्म त यहि सरकार हो भन्दा तरंग सत्तापक्षमा गयो गएन मलाई थाहा छैन। शुभकामना छ, सत्ताभित्र कोही तरंगित नभएको होस्।

एकवर्षमै जहाज र रेलको सपना देखाउने सरकार तिथिमिति तोकेर व्यक्तिगत निम्ता पनि गर्ने सत्तापक्षका सांसदहरु अब घाँटी सुकाई सुकाई आधार वर्ष हो भनेर भन्न थाल्नु भएको छ। प्रधानमन्त्रीज्यू, आर्थिक बृद्धिकाबारेमा हलुका टिप्पणी नगर्नुहोस्। पूँजीगत खर्च अघिल्लो वर्षभन्दा ३५ अर्ब कम खर्च भयो। संशोधित अनुमान भन्दा कम खर्च भयो ३२ अर्ब।

अर्थमन्त्रीज्यू पुरानो मेरो मित्र हुनु हुन्छ। कार्यसम्पादन करार गर्नु भएको होला। चिन्ता उहाँको पो लाग्न थाल्यो प्रधानमन्त्रीजीको टिप्पणी सुन्दा। तर, प्रधानमन्त्रीज्यू, तपाइले मन्त्रीसँग गरेको कार्यसम्पादन करारकाबारेमा त औँला उठाउनु होला, मन्त्री फेर्नु होला, तर, जनताले प्रधानमन्त्रीसँग गरेको कार्यसम्पादन करार खोई?

हिँजो जनताले निर्वाचनमा गरेको कार्यसम्पादन करार पूरा भएन प्रधानमन्त्रीज्यू। त्यतिमात्रै होइन, संसदले गरेको कार्यसम्पादन करार अघिल्लो वर्ष बजेट कार्यान्वयन कार्यसम्पादन करार हो संसद र सरकारको। त्यो पूरा गर्न सक्नु भएन प्रधानमन्त्रीज्यू। यो परीक्षामा असफल भइसक्नु भयो। आउने दिन सफलता होस् शुभकामना व्यक्त गर्छु। सुस्वास्थ्यको शुभकामना व्यक्त गर्छु। धन्यवाद।

प्रकाशित मिति: : 2019-08-18 19:20:03

प्रतिकृया दिनुहोस्