नेकपाका प्रमुख सचेतक घरमा आक्रमण

तस्बिरः बिएल

प्रदेश नं ५ प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा गए राति अज्ञात समूहले आक्रमण गरेको छ । 

प्रमुख सचेतक ढकालको घरमा अज्ञात समूहले तीन वटा सिसामा मट्टितेल भरेर प्रहार गरेको र त्यसबाट उहाँ चढ्ने लु १ प ४५६ नंको सरकारी गाडीको पछाडिको भाग जलेर क्षतिग्रस्त भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक रविनराज मैनालीले जानकारी दिए।

राति करीब २:३० बजेको समयमा मोटरसाइकलमा आएको अज्ञात समूहले उक्त आक्रमण गरेको उनले बताए।

नेता ढकाल गम्भीर बिरामी भई केही दिनदेखि काठमाडौँस्थित मेडिसिटी अस्पताल भर्ना भएका छन्। सैनामैना–८ रामापुर कलौनीस्थित ढकालको घरमा पत्नी, बुबा–आमालगायत छन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले नेता ढकालको घरमा राति अज्ञात समूहले आक्रमण गरेको जानकारी दिए। अन्य विवरण आउन बाँकी रहेको प्रवक्ता भण्डारीले बताए।

प्रकाशित मिति: : 2019-08-16 08:21:47

प्रतिकृया दिनुहोस्