राजा हुन खोज्दा एक्लो सांसद भए पवन चाम्लिङ !

अन्तत: एक्लो सांसद भए चाम्लिङ । फाइल तस्बिर

सिक्किममामा २७ वर्षसम्म शासन गरेर भारतमै सबैभन्दा लामो समयसम्म मुख्यमन्त्री भएको कीर्तिमान बनाउने पवन चाम्लिङ अन्तत: एक्लो सांसद भएका छन् । तीन महिनाअघि सम्पन्न चुनावमा उनको पार्टी सिक्किम विधानसभाका ३२ मध्ये १५ स्थानमा विजयी भएको थियो । चाम्लिङ र अर्का एक नेता दुई स्थानबाट विजयी हुँदा उनीसँग १३ सभासद थिए । तर, अहिले १० जना भारतीय जनता पार्टीमा गएका छन् भने दुईजनाले छुट्टै पार्टी बनाउने भनेर विद्रोह गरिसकेका छने । यसरी परिस्थितिले उनलाई आफ्नो पार्टीको एक्लो सांसद भएका छन् ।

कुनै बेला स्वतन्त्र राष्ट्र रहेको सिक्किम भारतमा विलय भएपछि यहाँको राजनीतिमा नेपालीभाषीहरूको निर्णायक भूमिका रहदै आएको छ । कुनैबेला नेपाली भाषी नरबहादुर भण्डारीको सिक्किममा एक छत्र राज थियो । त्यही पार्टीबाट पवन चाम्लिङ र अहिलेका मुख्यमन्त्री पीएस गोलेले राजनीति सुरू गरेका थिए । पछि चाम्लिङले भण्डारीसँग विद्रोह गरी आफ्नै पार्टी बनाए भने गोले पनि उनीसँगै आए । त्यही चक्र घुमाउँदै केही वर्षअघि गोलेले चाम्लिङलाई छोडेर नयाँ पार्टी बनाए । अहिले त्यही गोले पार्टीले उनलाई सत्ताच्यूत गर्यो र प्रकारान्तरमा चाम्लिङको यो हालत भयो ।

चाम्लिङको यो हालत हुनुमा उनको आफ्नै कार्यशैली जिम्मेवार रहेको नजिकबाट चिन्नेहरू बताउँछन् । यतिका लामो शासन गरेपछि उनले आफूलाई राजा र उनका परिवारले राजपरिवार ठान्न थालिसकेका थिए । उनको जयजयकार गाएपछि सिक्किममा जे पनि जायज हुन थालेको थियो । त्यसको अनुभूति जनतालाई हुन थालेको सुइँको पाएका गोलेले चाम्लिङको उपादेयता सकिएको ठान्दै विद्रोह गरे र आफूलाई नयाँ चाम्लिङ बनाउने बाटोमा डोहोर्याए ।  

उता, गठजोडको राजनीतिका लागि नामूद भारतीय जनता पार्टीले चाम्लिङबाट केही नहुने भन्दै त्यस पार्टीका विधायकहरूलाई दिल्लीमा चारो हाल्यो । सुरूदेखि नै जता चारो उतै पारो चलाउने भनेर बदनाम सिक्किमे नेतामध्ये चाम्लिङका १० सभासद भारतीय जनता पार्टीको चारो टिप्न गए । बाँकि रहेका दुईजनालाई पनि गोलेको सत्तारूढ पार्टीले चारो हाली दिएको वा उनीहरू अर्कै पार्टी बनाएर भारतीय जनता पार्टीकै चारो टिप्न जाने आशंका गरिएको छ । यदि उनीहरू गोलेतिर नगएर मोदीतिर गए भने सम्भवत: उपनिर्वाचनपछि नै सिक्किममा पनि भारतीय जनता पार्टीको सरकार बन्न सक्ने अनुमान गरिदैछ । 

यसरी राजनीतिक घटनाक्रम तिब्र गतिमा अगाडि बढिरहेको सिक्किममा केही समयअघि सम्म पनि १५ स्थान जितेर प्रमुख प्रतिपक्ष बनेको आफ्नो पार्टीलाई तीन स्थानका लागि हुन लागेको उपनिर्वाचन जितेर फेरि सत्तामा पु्र्याउने सपना देखिरहेका थिए चाम्लिङ । तर, अब  उनी राजनीतिक रूपमा उठ्नै नसक्ने गरी थला परेका छन् । 

 

 

प्रकाशित मिति: : 2019-08-14 19:36:23

प्रतिकृया दिनुहोस्