मन्त्री यादवलाई सांसदको प्रश्न

तस्बिरः बिएल

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवसँग मन्त्रालयका कामकारवाहीसम्बन्धी विभिन्न प्रश्न गरेका छन्।

बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले गुणस्तरीय खाद्य वस्तु खान पाउने संवैधानिक अधिकारअनुसार नै मन्त्रालयले बजारमा अनुगमन बढाएको बताउँदै अनियमितता र गलत गर्नेलाई कारवाही गरिएको जानकारी गराए।

जनतालाई अखाद्य होइन खाद्य पदार्थ नै खुवाउने मन्त्रालयको योजना सुनाउँदै उनले चाडबाडमा मात्र नभइ निरन्तरता दिने उद्देश्यले अनुगमन गर्ने योजना बनाइएको बताए। बैठकमा सांसद उमा रेग्मीले खाद्य पदार्थमा अखाद्य पदार्थको मिसावट बढेको र उपभोक्ताले शुद्ध खानेकुरा नपाईरहेको अवस्थामा मन्त्रालयले के कदम चालिरहेको छ भनी प्रश्न गरेकी थिइन्।

सांसदद्वय डा डिला सङ्ग्रौला र रङ्गमती शाहीले पूरक प्रश्न गर्दै अनुगमनले काम नगरेको र कालाबजारी नियन्त्रण गर्न अझ कडा कदम चाल्नुपर्नेमा जोड दिए। जवाफमा मन्त्री यादवले कालाबजारी नियन्त्रण गर्न योजना मात्र नभई काम पनि गरेको र अनुगमन गरी कारवाहीसमेत गरिएको बताए।

सांसद सङ्ग्रौलाले सरकारले २०७५ को नीति तथा कार्यक्रममा विद्यालय, विश्वविद्यालय, अस्पताल, विमानस्थल, पार्क र सार्वजनिक सेवाबाट प्रदान गर्ने सेवामा नेपालमा गुणस्तर लागू गर्ने भनिएको र त्यो कार्यक्रम कहाँ पुग्यो भनी प्रश्न गरेकी थिइन्।

जवाफमा मन्त्री यादवले गुणस्तरका लागि प्राविधिक टोली गठन गरिसकिएको र कार्यान्वयनको चरणमा रहेको बताए। साथै उनले विगतदेखि बिग्रेका भत्केका सबैमा सुधार गर्दै अघि बढेकाले सबै एकैचोटी नहुने उल्लेख गरे।

सांसद रामबहादुर विष्टले अछामको विनायक नगरपालिकामा पाइने अति मूल्यवान पत्थर काइनेटको चोरी निकासी रोकथाम गर्न सरकारले के योजना बनाएको छ भनी प्रश्न गरेका थिए।

उक्त प्रश्नमाथि सांसदद्वय दिलेन्द्रप्रसाद बडू र प्रेम सुवालले मूल्यवान पत्थर काइनेटको चोरी निकासी नियन्त्रण हुन नसकेको भन्दै पूरक प्रश्न गरेका थिए।

जवाफमा मन्त्री यादवले यस वर्षको नीति तथा कार्यक्रममा अध्ययन र उत्खननका लागि प्रक्रिया अघि बढाइएको बताउँदै बहुमूल्य पत्थरको उत्पादन र प्रशोधन गरी निकासीसमेत गरिने जानकारी गराए। चोरी निकासीका लागि सबै उपाय अवलम्बन गरिएको उनको भनाइ थियो।

सांसद पुष्पा भुसालले नेपालमा आयात हुने तरकारी तथा फलफूलमा ८० प्रतिशतभन्दा बढी विषादी पाइएको र ४५ प्रतिशतभन्दा बढी विषादी भएको खाद्यान्नलाई प्रयोग नगरी नष्ट गर्नुपर्नेमा जोड दिइन्। जवाफमा मन्त्री यादवले तरकारीमा विषादी परीक्षणलाई कडाइ गरिएकाले मुलुक बाहिरबाट ल्याइने मात्र होइन मुलुकभित्रै उत्पादन भएको तरकारीमा पनि विषादी भेटिन सकिने हुनाले परीक्षणलाई निरन्तरता दिइने बताए।

बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितसँगका प्रश्नकर्ता सांसद महेन्द्रराय यादव उपस्थित नभएपछि सो मन्त्रालयसँग सम्बन्धित आजका लागि तय गरिएको प्रश्नोत्तरको सूची हुन सकेन।

प्रकाशित मिति: : 2019-08-13 23:12:22

प्रतिकृया दिनुहोस्