बावु भेट्न जेल गएकी पूर्व प्रधानमन्त्रीकी छोरी जेल परिषरबाटै पक्राउ

Agency

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफकी छोरी मरियम नवाज पनि भ्रष्टाचार मुद्धामा पक्राउ परेकी छिन्। आफ्नो बुवालाई बिहीबार जेलमा भेट्न गएकी मरियमलाई पाकिस्तानको भ्रष्टाचार विरोधी एजेन्सीले पक्राउ गरेको हो।

तीन पल्ट पाकिस्तानको प्रधानमन्त्री भइसकेका नवाजलाई गत वर्षको २४ डिसेम्बरमा लाहोर उच्च अदालतले भ्रष्टाचारको मुद्धामा जेलको सजाय तोकेको थियो।

पाकिस्तानी अखबारका अनुसार मनि लाउन्ड्रिङ मुद्धामा आयभन्दा बढी सम्पत्ति जोडेको आरोपमा विपक्षी पाकिस्तान मुस्लिम लिग–नवाजकी उपाध्यक्ष मरियमसँग एजेन्सीले बयान लिएको थियो।

४५ वर्षीय मरियमलाई बुधबार बयान लिइएको थियो। बयानमा उनीसँग जोडिएको चौधरी चिनी मिलको कारोबारमा अर्बो रकम लेनदेन गरेको आरोप छ। चिनी मिलमा नवाज परिवार र उनको पनि लगानी देखिएपछि छानवीन समिति सक्रिय भएको थियो।

मरियमलाई ८ अगस्टमा पुनः उपस्थित हुन भनिएको थियो। भ्रष्टाचार विरोधी एजेन्सीको अफिसबाट बाहिरिएलगत्तै मरियमले सुनियोजित रुपमा आफूलाई फसाउन खोजिएको आरोप लगाएकी थिइन।

यसअघि नवाजका दुई भतिजा युसुफ अब्बास र अब्दुल अजिज अब्बासलाई देशबाट भाग्न लागेको भन्दै अल्लामा इकबाल अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर जान रोक लगाइएको थियो। उनीहरू साउदी अरब जाने तयारीमा विमानमा चढिसकेका थिए। तर, उनीहरूलाई विमानबाट उतारिएको थियो।

प्रकाशित मिति: : 2019-08-08 18:21:33

प्रतिकृया दिनुहोस्