प्रदेश नं. २ मा तीन अर्ब ५९ करोडको क्षति

कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक

काठमाडौं । अत्याधिक वर्षाका कारण गत महिना आएको बाढीपहिरो र डुबानमा परी सबैभन्दा बढी प्रदेश नं. २ मा करीब तीन अर्ब ५९ करोडको क्षति भएको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आज बसेको बैठकमा कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणी खनालले सो विवरण प्रस्तुत गरेका हुन्।

उनले प्रदेश २ का ८ जिल्लामा कृषितर्फ रु १ अर्ब ९७ करोड तथा पशुपक्षीतर्फ रु १ अर्ब ६२ करोडको क्षति भएको जानकारी दिए।

असार २६ गते र त्यसपछिको लगातार वर्षाका कारण मुलुकका कृषि तथा पशुपक्षीका क्षति विवरणको सत्य तथ्य विवरण समिति समक्ष पेश गर्न मन्त्रालयलाई निर्देशन भएपछि मन्त्री खनालले  त्यसपछिको बढी क्षति प्रदेश नं १ मा भएको जानकारी दिए। उनले प्रदेश नं. १ का जिल्लामा ८१ करोड ५४ लाख ७२ हजार मूल्यका कुखुरा तथा चौपाया र बाली नष्ट भएको जानकारी दिए।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयको साउन १३ गतेसम्म सङ्कलन भएको तथ्याङ्क विवरणमा प्रदेश नं. १ मा दुई हजार ४४६ घरधुरी प्रभावित भएका छन् । मन्त्री खनालले बैठकमा प्रदेश नं. ३, गण्डकी प्रदेश, प्रदेश नं. ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबाट भने वर्षाका कारण पुगेको क्षतिका विवरण हालसम्म आइनसकेको जानकारी गराए। रासस

प्रकाशित मिति: : 2019-08-04 16:54:11

प्रतिकृया दिनुहोस्