योगेश भट्टराईले पर्यटन मन्त्रीकाे सपथ लिए

बीएल

काठमाडौं । नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले बुधबार पद तथा गोपनियताको शपथ लिएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित विशेष समारोहमा भट्टराईलाई पद तथा गोपनियताको शपथ गराएकी हुन्।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, मन्त्रहरूलगायतका संवैधानिक निकायका प्रमुखको उपस्थिति थियो।

गत फागुन १५ गते पर्यटन मन्त्री रहेका रविन्द्र अधिकारीको तापलेजुङमा हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि सो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले सम्हालिरहेका थिए।

भट्टराई नेपाल कम्युनिष्ट पार्टी ( ने क पा) नेता २०७४ मंसिरमा भएको निर्वाचनमा ताप्लेजुङबाट २९ हजार ४ सय ७९ मत ल्याएर विजयी भएका थिए।

ताप्लेजुङ्को साँघुमा २०२३ सालमा जन्मिएका भट्टराई २०३७ सालदेखि अनेरास्ववियुबाट राजनीतिमा प्रवेश गरेका हुन्। भट्टराई विद्यालयको प्रारम्भिक कमिटी, क्याम्पस कमिटी, जिल्ला कमिटी र अञ्चल कमिटी हुँदै २०५१ सालमा अनेरास्ववियुको केन्द्रीय अध्यक्ष भएका थिए।

तत्कालीन नेकपा एमाले विभाजित हुँदा नेकपा मालेतिर लागेका भट्टराई पछि पुरानै घर फर्किएका थिए।

भट्टराई २०६४ सालको पहिलो संविधान निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ बाट र २०७० को दोस्रो संविधानसभाको चुनावमा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका थिए। पछिल्लोपटक प्रतिनिधिसभाको निर्वाचनमा उनी ताप्लेजुङ्बाट उम्मेदवार बनेर विजयी भएका थिए।

प्रकाशित मिति: : 2019-07-31 17:38:37

प्रतिकृया दिनुहोस्