भारतका वरिष्ठ कांग्रेसी नेता जयपाल रेड्डीको निधन

Agency

कांग्रेसका वरिष्ठ नेता तथा पूर्व केन्द्रीय मन्त्री जयपाल रेड्डीको ७७ वर्षको उमेरमा निधन भएको छ। उनी निमोनियाबाट पीडित थिए।

रेड्डीको निधन हैदराबादमा शनिबार राती १ बजेर ३० मिनेटमा एआईजी अस्पतालमा भएको थियो। उनी १९९८ मा पूर्व प्रधानमन्त्री इन्द्रकुमार गुजरालको कार्यकालमा सूचना तथा प्रसारण मन्त्री भएका थिए।

रेड्डीको जन्म १६ जनवरी १९४२ मा हैदराबादको मदगुलमा भएको थियो। अहिले यो तेलंगाना राज्यमा पर्छ। रेड्डी तुलुगु राजनीतिका बरिष्ठ नेता मानिन्छन्।
उनी आन्ध्र प्रदेशबाट ४ पल्ट विधायक र ५ पल्ट सांसद चुनिएका थिए।

युपिए–१ सरकारमा उनी शहरी विकाश मन्त्री थिए। युपिए–२ को सरकारमा उनलाई शहरी विकाश र पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयको जिम्मेवारी सुम्पिएको थियो।

पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीले इमर्जेन्सी लागु गरेपछि रेड्डीले १९७७ मा कांग्रेस पार्टी परित्याग गरेका थिए। उनी त्यतिबेला जनता पार्टीमा प्रवेश गरेका थिए। उनी १९९९ मा पुनः कांग्रेसमा फर्किएका थिए।

रेड्डीको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीले गहिरो दुःख व्यक्त गरेका छन्।

 

प्रकाशित मिति: : 2019-07-28 16:49:16

प्रतिकृया दिनुहोस्