मुख्यमन्त्री राई कर्मचारीसँग आक्रोसित, कलंकित बनाउने काम गरे तत्काल कारबाही

बिएल

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कर्मचारीको पछिल्लो गतिविधी र काम कारबाहीप्रति प्रदेश सरकार पूर्ण रुपमा असन्तुष्ट रहेको बताएका छन् ।

प्रदेशको वन मन्त्रालय अन्तर्गतका डिभिजन वन कार्यालय र भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका सडक, सिँचाई, खानेपानी र यातायात व्यवस्था कार्यालयका कर्मचारीहरुसँग मुख्यमन्त्री असन्तुष्ट देखिएका हुन् । कर्मचारीसँग आक्रोसित बनेका उनी कर्मचारीप्रति कठोर रुपमा पनि प्रस्तुत भए। विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाएरै सोमबार राईले विशेष निर्देशन दिए ।

यसलाई कर्मचारीप्रति मुख्यमन्त्री राई आक्रामक रुपमा प्रस्तुत भएर कठोर बन्न थालेको रुपमा लिइएको छ । लामो समय द्धन्द्ध, अभाव र गरिवीमा गुज्रिएर पछिल्लो समय जिम्मेवार र महत्वपूर्ण घडीबाट मुलुक अघि बढिरहेका बेला कर्मचारी भने कमिसन माग्ने, भ्रष्टाचार गर्ने, घुस खाने र जनताको काममा ढिलासुस्ती गर्ने जस्ता गतिविधी र विवादमा मुछिने गरेको भन्दै उनले आपत्ति जनाए । यी सबै गतिविधी समृद्ध नेपाल, सुखी नेपाली भन्ने सरकारको अभियान विरोधी रहेको उनको तर्क छ ।

‘पुरानो मानसिकता हटाएर संविधान र संघीयता कार्यान्वयन गरेर नयाँ नेपाल निर्माण गरेर इतिहास बनाउनु पर्ने मुख्य जिम्मेवारी हामी माझ छ,’ उनले भने, ‘तर कर्मचारीहरु चैं जनताप्रति जिम्मेवार र उत्तरदायी बन्न सकेनन् ।’ असार ३० गते सिँचाई डिभिजन विकास कार्यालय भोजपुरका प्रमुख एवं सिनियर डिभिजन ईन्जिनियर मोहनबाबु यादव एक लाख ८० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेको उल्लेख गर्दै मुख्यमन्त्री राईले कार्यालय प्रमुखलाई बोलाएर बैठक गर्न जरुरी देखिएको बताए ।

भने, ‘कर्मचारी विभिन्न खाले विवादमा मुछिन र घुससहित रंगेहात पक्राउ पर्न थाले । अरु घटना हुनु नदिन सबै जनालाई एकै ठाउँमा राखेर आकस्मिक रुपमा कुरा गर्नु पर्ने अवस्था बन्यो ।’

कर्मचारीले गर्ने गरेका अनियमितता र भ्रष्टाचार लगायतका विषयमा आफूले थुप्रै सूचना प्राप्त गरको बताउँदै उनले भने, ‘प्रदेश सरकार बिना सूचना चुप लागेर बसेको छैन । विशेष सूचनाका आधारमा सबै कुरालाई नजिकबाट नियालिरहेको छ ।’ कमिसन र घुसका नाममा विभिन्न सेटिङ मिलाउने काम भएको भन्दै राईले तत्काल यस्ता काम बन्द गर्न र नभए कारबाहीको भागिदार बन्न कार्यालय प्रमुखलाई निर्देशन दिए ।

घुस र कमिसन लिने तथा भ्रष्टाचार गर्ने काम जसको आडमा भएको भए पनि कारबाही हुने उनले बताए । ‘मेरो (मुख्यमन्त्री) सचिवालय, विभिन्न मन्त्रालय, मन्त्रीहरु, मुख्य सचिव, मन्त्रालयका सचिव जसको आडमा घुस लिने काम भए पनि त्यो मान्य हुँदैन,’ राईले भने, ‘सूचना प्राप्त गरेको एक घण्टा भित्रमा ‘एक्सन’ लिएर कारबाही सुरु हुन्छ ।’ उनले घुस, भ्रष्टाचार र कमिसनका नाममा लज्जास्पद तथा घृणित कार्य गरेर प्रदेशकै बद्नाम गर्ने गरिएको भन्दै कर्मचारीप्रति आपत्ति जनाए ।

कोही कसैले यस्तो आड दिने गरेमा तत्काल सूचना उपलब्ध गराउन आह्वान गर्दै राईले कार्यालय प्रमुखलाई आफ्नो मोबाइल नम्बर र इमेल आईडी समेत दिएका छन् । कर्मचारीले आफ्नो ज्ञान र वुद्धिले भन्दा पनि कोही कसैको आडमा भ्रष्टाचारमा लाग्ने र घुस लिने गरेको राईले बताए ।

केही विवादस्पद विषय प्रदेश सरकारको ‘नोटिस’ मा रहेको भन्दै उनले यसमा सूक्ष्म अनुसन्धान गर्ने काम भइरहेको जनाए । कर्मचारी घुस, कमिसन र भ्रष्टाचारमा लिप्त हुँदा नराम्रो सन्देश प्रवाह भएको भन्दै राईले बेलैमा सचेत भएर आफ्नो बानी सुधार्न र जनपक्षिय काम गर्न कार्यालय प्रमुखलाई निर्देशन दिए । उनले सबै खाले गलत गतिविधी गर्ने सञ्जाल तोड्ने अभियानमा प्रदेश सरकार रहेको स्पष्ट पारे । राईले समाज र जनताको अपेक्षा अनुरुप नैतिकताको जगमा उभिएर काम गर्दै असल नागरिक र राष्ट्र सेवक बन्न कर्मचारीलाई निर्देशन दिए । उनले आफू भ्रष्टाचार विरोधी रहेकाले आफ्ना बारेमा कुनै भ्रममा नपर्न पनि निर्देशन दिए ।

‘म जनताको काम गर्न मुख्यमन्त्री भएकाले भ्रष्टाचार, घुस र कमिसनका सवालमा कठोर बन्ने छु । इतिहासमा नाम लेखाउन मात्रै जनताबाट निर्वाचित भएको हैन,’ मुख्यमन्त्री राईले कार्यालय प्रमुखहरुलाई निर्देशन दिंदै भने, ‘तपाईहरुले पनि मुलुक र जनताका लागि नै कसम खानु भएको छ । कमिसन, घुस, स्वार्थ र भ्रष्टाचारमा कोही पनि नलाग्नु होस् ।’ उनले स्वच्छ, सभ्य, समृद्ध र समुन्नत प्रदेश निर्माण गर्न कर्मचारीको भूमिका महत्वपूर्ण हुनेमा जोड दिए । सबैलाई हेर्ने आफ्नो नजर भने समान हुने उनको भनाइ छ ।

अहिले प्रदेश सरकार सुस्त भयो भनेर गुनासाहरु आइरहेको बताउँदै राईले भने, ‘सरकारले आक्रामक रुपमा अघि बढ्ने तयारी गरिरहेको छ । अब चाँडै सरकारको गति बढ्ने छ ।’ उनले युग र पुस्ताले सम्मान गर्ने गरी कुकृति अन्त्य गर्दै नैतिक मूल्य र इमानको जगमा उभिएर काम गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिए ।

संविधानले दिएको कानुनी बलमा अघि बढ्ने र प्रदेश सरकारलाई जसरी पनि मजवुत बनाएरै छाड्ने अठोट उनले व्यक्त गरे । राईले सुखी, समृद्ध, स्वच्छ र समुन्नत प्रदेश निर्माणमा जुट्न कर्मचारीलाई आग्रह गरे ।

मुख्यमन्त्री राईले साउन भित्रमै ‘एक्सन प्लान’ बनाएर लागू गरिने भएका कारण चालु आर्थिक वर्षको बजेट जेठ १५ भित्रमा खर्च गरिसक्ने बताए । ‘गत वर्ष अन्तिम समयमा बजेट खर्च हुन थालेकाले समस्या भयो । जेठ र असारमा खर्च भएको बजेटका विषयमा पनि समीक्षा हुन्छ,’ उनले भने, ‘चालु वर्षको बजेटबाट भने जेठ १५ पछि एउटा कुनै गोष्ठी पनि हुने छैन । नतिजामा आधारित मूल्याँकन प्रणाली स्थापित गरेर समयमै बजेट खर्च गर्ने प्रदेश सरकारको योजना छ ।’

घर, आँगनमा खुसी ल्याउन र सबै कुराबाट जनतालाई जोड्नका लागि प्रदेश सरकार लागि परेको राईको भनाइ छ ।

प्रदेशका मुख्य सचिव सुरेश अधिकारीले मुख्यमन्त्री राईले विराटनगरमा कार्यालयका प्रमुखलाई झिकाएर गरिएको बैठक सामान्य छलफल र रिपोर्टिङका लागि नभइकन कर्मचारीलाई जिम्मेवार बनाउनका लागि भएको स्पष्ट पारे ।

प्रदेश सरकार बनेपछि पहिलो पटक आकस्मिक रुपमा कार्यालय प्रमुखलाई बोलाएर बैठक गरिएको जानकारी अधिकारीले दिए । उनले प्रदेशलाई समृद्ध बनाउनका लागि कर्मचारी संयन्त्र सवल हुनु पर्नेमा जोड दिए । अहिलेको प्रशासनिक संरचनालाई पुर्नसंरचना गरेर भए पनि कर्मचारी संयन्त्रलाई सवल र सक्षम बनाइने उनले बताए ।

‘सरकारले मिसन र भिजन दिने हो,’ अधिकारीले भने, ‘त्यसलाई कार्यान्वयन गर्ने काम कर्मचारी प्रशासनले गर्ने हो ।’ उनले कर्मचारी घुस र भ्रष्टाचारमा मुछिने क्रम बढेको भन्दै त्यसले सिंगो कर्मचारी प्रशासन र सरकारको छविलाई कमजोर बनाउँदै लगेको बताए ।

प्रकाशित मिति: : 2019-07-23 00:01:59

प्रतिकृया दिनुहोस्