राष्ट्रसेवक कर्मचारी इमान्दार हुनुपर्छ– मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रसेवक कर्मचारीले देश र जनताका निम्ति इमान्दार भएर काम गर्नुपर्ने बताएका छन्।

मुख्यमन्त्रीको कार्यालयमा आज प्रदेशअन्र्तगतका विभिन्न कार्यालयका प्रमुखहरुलाई निर्देशन दिँदै उहाँले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा कर्मचारीले सक्रियता देखाउनुपर्नेमा जोड दिए।

मुख्यमन्त्री राईले कर्मचारीलाई विचार र राजनीतिक दृष्टिकोणले नहेर्न आग्रह गरे। आर्थिक प्रलोभनमा पर्ने कर्मचारीका सूचना आफूलाई प्राप्त भएको जानकारी दिँदै मुख्यमन्त्री राईले निर्देशनको क्रममा कर्मचारीले आजैदेखि आफ्ना व्यवहार र शैलीमा परिवर्तन ल्याउनुपर्ने सुझाव दिए।

उनले चालु आर्थिक वर्षको बजेट अगामी जेठ १५ गतेभित्रमा खर्च गरिसक्नुपर्ने गरी कार्ययोजना बनाउन लागिएको जानकारी दिए। उनले नतिजामा आधारित अनुगमनको प्रबन्ध मिलाइने बताए।  कमिशन लिने र दिने काम कसको आडमा भइरहेको छ भन्ने प्रश्न गर्दै मुख्यमन्त्री राईले यस्तो काम अविलम्ब रोक्न कर्मचारीलाई निर्देशन दिए।

प्रदेशका प्रमुख सचिव सुरेश अधिकारीले गएको आर्थिक वर्षमा पूँजीगत खर्च ५८ प्रतिशत भएको जानकारी दिए। उनले कार्यसम्पादन मूल्याङ्नमा शतप्रतिशत प्रगति देखाउने र कार्यालयको प्रगति ५० प्रतिशत पनि हुने कर्मचारीका मूल्याङ्कन सोही आधारमा हुने जानकारी दिए। उनले भौतिक प्रगतिसँगै वित्तीय प्रगति पनि गर्नु जरूरि रहेको बताए। रासस

प्रकाशित मिति: : 2019-07-22 16:58:13

प्रतिकृया दिनुहोस्