नख्खुदेखि थानकोटसम्मका आधादर्जन घटना माईलाका थाप्लोमा, को हुन माईला लामा?

तस्बिरः बिएल

काठमाडौं । काठमाडौंको काँडाघारीबाट शनिबार मध्यराति पक्राउ परेका प्रतिबन्धित बिप्लव समूहका उपत्यका ब्यूरो इन्जार्च माईला लामालाई प्रहरी उपत्यकामा भएको सबै विस्फोटका घटनादेखि चन्दा असुली र ज्यान सम्बन्धी मुद्दामा कारबाही अघि बढाइएको छ।

महानगरीय अपराध महाशाखाको टोलीले लामालाई एक आफन्तको घरमा बसे सूचनाका आधारमा शनिबार राति पक्राउ गरेको थियो।

एक जनाको ज्यान जानेगरी एनसेल कार्यालयमा भएको बम बिस्फोट पछि प्रहरीले लामाको खोजी तिब्र पारेको थियो।

नख्खु घटनाका मुख्य नाइके लामा भएको प्रहरीले खोजी थालेको थियो।

त्यसपछिको काठमाडौं उपत्यकामा भएका विभिन्न विस्फोटका घटनामध्ये बसुन्धारास्थित रोहन गुरूङको घरमा भएको बिस्फोटमा पनि लामाकै मुख्य हात रहेको प्रहरीको दाबी छ।

त्यसैगरी सुकेधारा र अनामनगरमा ५ जनाको ज्यान जाने गरी भएको बिस्फोटमा पनि प्रहरीले लामालाई मुख्य योजनाकारको रूपमा हेरेको थियो।

थानकोटमा भएको बम बिस्फोट पनि लामाले नै गराएको प्रहरीको दाबी छ।

थानकोटमा बम राख्न जाने क्रममा आफैंले बोकेको बम विस्फोट भएर २ जना उनका कार्यकर्ता घाईते भएका थिए। लामाकै निर्देशनमा उनीहरु बम राख्न त्यहाँ गएको भन्दै त्यसमा लामाकै हात हुने प्रहरीको भनाई छ।

थानकोटमा विस्फोट भएकै दिन पनि काठमाडौंको कोटेश्वरबाट ७ जनासहित कुकुर, विस्फोट पदार्थ जफत गरिएको थियो।

शनिबार राति पक्राउ परेका लामामाथि उपत्यकामा भएका बिष्पोटका घटना, बम विष्पोटमा मृत्यु, जवरजस्ती चन्दाका घटनामा अनुसन्धान भईरहेको महानगरीय आयुक्त कार्यालयका प्रवक्ता एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।

उनका अनुसार शनिबार राति पक्राउ परेका लामामाथि नख्खु बम बिस्फोट, रोहन गुरूङको घरमा भएको बम विस्फोट, सुकेधारा बम विस्फोट, अनामनगर बम बिस्फोट, थानकोट बम बिस्फोट तथा विभिन्न ब्यापारीमाथि जबरजस्ती चन्दा उठाएको मुद्दामा अनुसन्धान अघि बढाइने छ।

लामा पक्राउ प्रहरीको ठूलो सफलता

लामा पक्राउलाई प्रहरीले ठूलो सफलताका रूपमा हेरेको छ।

विप्लव समूहको उपत्यका ब्यूरो इन्चार्ज रहेका माईला लामा उपत्यकामा भएका सम्पूर्ण घटनामा संलग्न रहेको प्रहरीको दाबी छ।

उपत्यकामा भएका बम विष्पोट, विभिन्न ब्यक्तिको मृत्यु तथा चन्दा सम्वन्धीका मुद्दालाई केलाएर हेर्दा लामाकै मुख्य भूमिका देखेपछि प्रहरीले लामाको पछि हात धोएर लागेको थियो।

‘सबै घटनाको अनुसन्धान गर्ने क्रममा खुलेका पाटाहरु र पक्राउ परेका ब्याक्तिको बयान अनुसार लामा सबै घटनामा संलग्न रहेका हुन् त्यही अनुसार अनुसन्धान हुनेछ,’ आयुक्त कार्यालयका प्रवक्ता ज्ञवालीले भने।

 

को हुन माइला लामा?

शनिबार राति काठमाडौंबाट पक्राउ परेका लामा प्रतिबन्धित नेत्र विक्रम चन्द (बिप्लव) समूह नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा उपत्यका ब्यूरो इन्चार्ज हुन्।

काठमाडौं सितापाइलाका माइला लामा तत्कालिन माओवादीको जनसांस्कृतिक महासंघका अध्यक्षसमेत हुन्।

२०६४ मा उनले काठमाडौंबाट निर्वाचनमा समेत भाग लिएका थिए।

लामाले तत्कालिन माओवादीमा हुदाँ कयौं गीतहरु लेखेका छन्। एकीकृत माओवादी विभाजन भएपछि लामा मोहन वैद्य हुँदै विप्लव नेतृत्वको पार्टीमा लागेका थिए।

गणतन्त्रको निम्ति लड्दालड्दै लामाले एक हात र आँखा गुमाउनु परेको थियो।

उनी जनवादी गायक एवम् नेकपाका केन्द्रीय सदस्य पनि हुन्। लामालाई विप्लव समूहको एक प्रभावशाली नेताको रुपमा हेर्ने गरिएको छ।

उनले संगीत दिएका धेरै गीतहरुमध्ये नेत्रविक्रम चन्द (विप्लव) को शब्द रहेको ‘कसले बनायो दाजै उडी जाने बस’ चर्चित छ।

प्रकाशित मिति: : 2019-07-21 14:02:34

प्रतिकृया दिनुहोस्