सोती घटनामा उच्च अदालतको फैसलाविरुद्ध दलित अधिकारकर्मी आन्दोलित
पाँच वर्षअघि रुकुम पश्चिमको सोतीमा मारिएका नवराज विकको मुद्धामा उच्च अदालत सुर्खेतले जातीय विभेदको मुद्दामा न्याय नदिएको भन्दै अधिकारकर्मी आन्दोलनमा उत्रिएका छन्। मंगलबार उच्च अदालत सुर्खेतका न्यायाधीशहरू सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले सोती घटनाका २३ जना प्रतिवादीलाई यस अघि जिल्ला अदालत रुकुम पश्चिमले गरेको जन्मकैदको सजाय सदर गरेको थियो। तर जातीय विभेदको मुद्दामा भने सबैले सफाइ पाएका छन्। ०७७ जेठ १० मा जाजरकोटका नवराज विक आफ्नी प्रेमिकासँग विवाह गर्न चौरजहारी पुग्दा गाउँलेको कुटपिटमा उनको समूहका १८ मध्ये ६ जनाको मृत्यु भएको थियो। नवराज विकसहित ६ जनाको हत्या अभियोगमा यसअघि जिल्ला अदालत रुकुम पश्चिमले २३ जनालाई जन्मकैदको फैसला गरेको थियो।
बिएल संवाददाता - काठमाडौं