शनिबार, १६ नोभेम्बर २०२४

‘यौन शोषण’मा किन फस्दैछन् बालिका?  (भिडियाेसहित)

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं

News Image
• • •

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले ‘गेष्ट हाउस’बाट ६ जना बालिकाहरूको उद्धार गरेको छ। 

ब्यूराेले साउन–२ गते काठमाडौंको कोटेश्वरस्थित ‘रामेछाप खाजा घर एण्ड गेष्ट हाउस’ बाट उनीहरूलाई उद्धार गरेको हो। 

कामको प्रलोभनमा बालिकाहरूलाई ‘वेश्यावृत्ति’मा लगाउने गरेको भन्ने सूचनाका साथै दुई पटक गरेको रेकीको आधारमा उनीहरूको उद्धार गरिएको ब्यूरोका प्रमुख ओमबहादुर रानाले बताए।

उनका अनुसार अहिले ती बालिकाहरूलाई पढाउनका लागि विभिन्न संघसंस्थाहरूमा राखिएको छ।

‘हामीेले उद्धार गरेका बालिकाहरूलाई आवश्यकअनुसार पढाउने र तालिममा लगाउने गरेका छौं’, प्रमुख रानाले बताए।

उद्धार गरिएका बालिकाहरू ६ महिनादेखि गेष्ट हाउसमा काम गरिरहेको बताउँदै उनले भने, ‘केही डेढ महिनादेखि छन् भने कोही ६ महिनादेखि त्यही पेशामा लागिरहेका छन्।’

बाध्यतालाई ‘हतियार’ बनाएर बालिकाहरूलाई काम यौन शोषनमा लगाएका होटेलका सञ्चालक ३२ वर्षीय नवीन थापा र १९ वर्षीय उज्वल खड्कालाई नियन्त्रणमा लिइएको छ। 

नाबालिकलाई यौन शोषणमा लगाएका उनीहरूलाई १०–१२ वर्ष कैद सजाय र ५० हजारसम्मको जरीवाना हुने प्रमुखको भनाइ छ। 

‘यो विषयमा अनुसन्धान भइरहेको छ। अरू व्यक्तिहरू पनि संग्लन देखिनुभयो भने उहाँहरूलाई पनि कारबाही हुन्छ’, बिएल नेपाली सेवालाई उनले बताए। 

बालबालिकाहरूलाई श्रममा गराउनु गैरकानूनी हो तर उनीहरूलाई कम तलब दिएर व्यापारीहरूले काममा लगाइरहेका छन्। त्यसमाथि पनि व्यापारीलगायत एजेन्टहरूले छिट्टै पैसा कमाउने लालसाले बालिकाहरूलाई यौन पेशामा धकालिरहेको उनको बुझाइ छ। 

‘यौन शोषण’मा किन फस्दैछन् बालिका?

शिक्षाको कमी, गरिबी, बेरोजगार, परिवारबाट बिचलित भएर रोजगारीका लागि सहर आएकाहरू यौन शोषणमा परिरहेको ब्यूरोका प्रमुख रानाको भनाइ छ।

उनका अुनसार आमा अर्कोसँग भागेको र बुबा वैदेशिक रोजगारमा गएकाहरूपनि यौन शोषणमा परेका छन्।

‘परिवारको आर्थिकस्थिती कमजोर भएकाहरूलाई काम लगाइदिने बहानामा केही एजेन्टहरूले श्रम गरेर यौन शोषणमा लगाइदिने गरेका छन्’, उनी भन्छन्, ‘बेरोजगारीको फाइदा तीनै व्यापारीहरूले उठाइरहेका छन्।’

परिवार धान्नका लागि यौन पेशा अपनाएका बालिकाहरू आफू पीडित भएको बताउँदैनन्, प्रहरीकहाँ उजुरी दिँदैनन्। ‘बालिकाहरूको उमेर सानो हुन्छ। उनीहरू राम्रो र नराम्रो छुट्याउन सक्दैनन्’, उनले भने, ‘त्यो पेशामा लागेपछि बालिकाहरूले खान, बस्न र पैसा पाउँछन्। त्यसैले रिर्पोट गर्न चाहदैनन्।’

मानव बेचबिखन ब्यूराेको ‘अप्रेशन’

मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रमुख ओमबहादुर रानाको नेतृत्वमा १५ वर्षदेखि १८ वर्ष पुगेका बालिकाहरू उद्धार भए।

अहिले ती बालबालिकाहरूलाई ‘काउन्सेलिङ’ गरेर पढ्न र तालिम सिक्नका लागि विभिन्न संघसंस्थामा पठाइएको छ।

पछिल्लो आर्थिक वर्षयता मानव बेचबिखन ब्यूरोले ३० वटा ‘अप्रेशन’ चलाइसकेको छ। उक्त अप्रेशनबाट नयाँ बसपार्क र बौद्धका रेस्टुरेन्ट तथा होटलहरूबाट सयौं संख्यामा बालिकाहरू उद्धार गरिएको छ।

वि.स २०७५ सालदेखि स्थापना भएको मानव बेचबिखन ब्यूरोले बालबालिका तथा जोखिममा परेकाहरूलाई लक्षित गर्दै स्कूल, कलेज र विभिन्न संघसंस्थामा जनचेतनामुलक कार्यक्रमहरू आयोजना गर्दैआइरहेको छ।

‘मानव बेचबिखन ब्यूरोले गर्दैआइरहेको जनचेतनामुलक कार्यक्रमले पनि त्यस्ता घटनाहरू विगतको तुलनामा केही हदसम्म कम भएको छ’, उनी भन्छन्, ‘यदी मनोरन्जन क्षेत्रलगायतमा काम गर्न आएका बालिकाहरूलाई कामभन्दा पनि पढाइमा फोकर्स गराउने हो भने यौन शोषण घटनाहरू धेरै कम हुन्छ।’

कुनैपनि बालबालिकाहरूलाई होटल, गेष्ट हाउस तथा मनोरञ्जन क्षेत्रमा काम गरिरहेको देखेमा नजिकै प्रहरी चौकी वा मानव बेचबिखन ब्यूरोमा गोप्य रुपमा सम्पर्क गरिदिन उनी सर्वसाधारणसँग अनुरोध गर्छन्। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?