शनिबार, १६ नोभेम्बर २०२४

छोरीको उपचार खर्च जुटाउन पशुपतिमा चिया बेचिरहेकी आमा (भिडियाेसहित)

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं

News Image
• • •

कपनकी मनिषा नेपालीले पशुपतिमा चिया बेच्न थालेको तीन महिना भयो। 

बिहानदेखि साँझसम्म मन्दिरकाे चक्कर लगाउने उनी दिनमा हजार रुपैयाँ कमाउँछिन्।र, त्यहि पैसाले घर खर्च चलाउँछिन्। उनलाई श्रीमानले घरमै बस्न लगाएका छन् तर मनिषा काम नगरी बस्नै सक्दिनन्। 

उनी भन्छिन्, ‘बूढाले त भन्नुहुन्छ कि काम नगर तर मन कहाँ मान्छ र? घर खर्च चलाउनुपर्यो। नानीको उपचार खर्च पनि त जुटाउनु पर्यो।’

पशुपतिमा चिया बेच्नअघि पानी बाेक्ने काम गर्थिन् मनिषा। पानीकाे भारी बाेकेरै उनले घर खर्च चलाउँथिन्। तर बसाइँ सरेपछि उनले त्याे काम छाेड्नपर्याे।

‘पानी बोकेर कमाएको पैसाले नुन तेल किन्न पुगिरहेको थियो तर कोठा सरेपछि काम पनि हातबाट छुट्यो। त्यसपछि पशुपतिमा चिया बेच्न थालें’, उनले बताइन्।

कपनकाे गणतन्त्र चाेकमा बसाइँ सरेपछि कामविहिन भएकी थिइन् मनिषा। तर उनलाई काम गर्नुथियाे। तर थाह थिएन के गर्ने?

एकदिन उनले पशपति क्षेत्रमा उनले महिलाहरूले थर्मसमा चिया बेचिरहेकाे देखिन्। त्याे दृश्य देखेकी मनिषाले पनि चिया बेच्ने साेच बनाइन्। उनले बुनेकाे याेजना श्रीमानलाई सुनाइन्। 

श्रीमतीकाे काम गर्ने हुटहुटी देखेर श्रीमानले पनि चिया बेच्न अनुमति दिए। त्यसपछि थर्मस बाेकेर पशुपति घुम्न थालिन् मनिषा। 

पहिलो पटक चिया बेच्दा अनौठो लागेको थियो मनिषालाई। चिया बिक्री नहुने होकि!

तर पहिलो दिनै उनले दुई थर्मस चिया बेचिन्, १ हजार २ सय रुपैयाँको। त्यसपछि त मनिषालाई चिया बेच्न रमाइलो लाग्न थाल्यो।

‘पहिलो दिन चिया बेच्दा १२ सय कमाएकी थिएँ तर सधैं उस्तै व्यापार नहुँदो रहिछ।एक पटक त मैले ३ सय रुपैयाँको मात्र चिया बेचें’, व्यापार सधैं एकैनास नहुने उनले बताइन्।

 

दुई हातमा १० लिटरको थर्मस बोकेर हिड्ने मनिषाले निःशुल्क पनि चिया खुवाउने गरेकी छिन्।

‘सबैजना होइन तर कोही–कोही ग्राहकहरूसँग पैसा हुँदैन, तर चिया पिउन चाहनुहुन्छ। उहाँहरूलाई मैले सित्तैमा चिया पिलाउँछु’, उनी भन्छिन्, ‘मान्छेसँग पैसा सधैं कहाँ हुन्छ र?’

चिया बेच्दा ग्राहकहरूसँग हाँसेर हिड्छिन् मनिषा। हँसिली देखिन्छिन्। तर उनकाे मनमा  थेक्न नसक्ने पीर छ। बिरामी छाेरीकाे चिन्ताले उनलाई हरपल सताइरहन्छ। तर काम पनि त गर्नेपर्याे नि। उनै छाेरीकाे उपचार खर्च जुटाउन।

उनकी जेठी छोरीलाई थैलासेमिया रोग छ। त्यही रोगले १३ वर्षकी छोरीलाई कमजोर बनाएको छ। सानो उमेरदेखि थैलासेमियाबाट ग्रसित छोरीलाई साता दुई पटक त अस्पताल लैजानुपर्छ। रगत चढाउनका लागि।

‘थैलासेमिया रोग भनेको ब्रोनम्यारो सम्बन्धी समस्या हो। यो रोग लाग्दा साताको दुई पटक रगत हाल्नपर्ने रहिछ’, उनले भनिन्, ‘छोरीलाई बाल कान्ती लैजाने गरेकी छु।’

उनका एक छाेरा पनि छन् तर उनलाई बिरामी छाेरीकाे धेरै चिन्ता लाग्छ। त्यहि छाेरीकाे मायाले त उनलाई‘चियावाली’ बनाएको छ।

‘आफूले ९ महिना गर्भमा राखेर जन्माएको छोरी धेरै माया लाग्छ। उसको उपचार खर्चको लागि पनि म काम गरिरहेकी छु’, आँसु पुछ्दै उनले भनिन्, ‘रोगले ठुलाे सानो नभन्दो रहिछ।’

अहिले छाेरीकाे राेगले परिचित भइसकेकी छिन् उनी। तर कुनैबेला छाेरी गुमाउने डरले त्रासमा थिइन्। उनलाई कसैले भनेका थिए कि छोरीलाई ‘ब्लर्ड क्यान्सर’ भएको छ। क्यान्सरकाे नाम सुनेर उनी कयाैं रात नसुतिकन उज्यालाे पारिन्।

‘ब्लड क्यान्सर लागेको छ, बाँच्दैनन् भन्थे। त्यो दिन म खुबै रोएकी थिएँ तर पछि डाक्टरले क्यान्सर होइन थैलासेमिया भन्नुभयो’, बिएल नेपाली सेवासँग उनले दुख पोखिन्, ‘त्यसपछि मनमा केही आनन्द भयो। थैलासेमियाको बाँच्ने आधार नै रगत रहिछ।’

छाेरीकाे पीरले दुःखी हुँदा उनी माइतघरकी आमालाई स्मरण गर्छिन्। र आफूले गरेको नादानी सम्झिन्छिन्। अनि भक्कानिएर रून्छिन्।

दलित हुनुको पीडा

पूख्याैली घर सिन्धुली भएतापनि उनी काठमाडाैंमा हुर्किइन्। काठमाडाैंकाे एक स्कुलमा उनले कक्षा–५ सम्म पढिन्। त्यसपछि उनलाई पढ्ने रहर जागेन। ‘साथीहरू पढ्न मानेनन् अनि मैले पनि पढ्न छोडिदिँ’, उनले भनिन्, ‘साथीहरू जे गर्यो मैले पनि त्यस्तै गरिदिएँ।’  

जेठी छोरीले पढाइ छाड्ने भएपछि बाआमाले उनलाई धेरै सम्झाए। ‘एसएलसी’सम्म पढ्न लगाए। तर मानिन् मनिषा। बरु, दिनभरि साथीहरूसँग डुलिरहिन्। 

साथीहरूकै संगतमा एकदिन उनको भेट जीवन नेपालीसँग भयो। उनीहरूबीच मित्रता बढ्दै गयाे। त्यही मित्रता प्रेममा बदलियाे। त्यसपछि विवाह भयाे। 

१५ वर्षकाे उमेरमा मनिषा धिमाल वैवाहिक बन्धनमा बाँधिएकी थिइन्। त्यहिपनि परिवारकाे खिलाफ। ‘मेरो परिवार चाहदैन थियो कि मेरो विवाह छिट्टै होस् भनेर। त्यसैले मैले भागेर विवाह गरें’, उनले बताइन्। 

छाेरीले विवाह गरेर रिसाएका थिए धिमाल परिवार। तर सन्तानकाे अगाडि कत्तिन्जेल पाे कठाेर हुनसक्थ्याे बुबाआमाको मन। उनलाई खुसीका साथ माइतीले अपनाए। 

तर मनिषाले माइतीघरमा श्रीमानको थर लुकाएकी थिइन्।

उनलाई लागेकाे थियाे छाेरी दलितसँग गएकाे थाहा पाए भने परिवारले मनिषा र जीवनलाई छुट्याइदिनेछन्। तर विवाह गरेर गइसकेकी छाेरीकाे घर भाड्न कुन चाहिँ बाआमा चाहन्छन् र?

‘मेरो विवाह भएको धेरै महिनापछि बाआमाले थाहा पाउनुभयो मैले दलित केटासँग बिहे गरेको कुरा’, उनले भनिन्, ‘तर बुबाआमाले केही भन्नुभएन। छोरीको खुसी नै हाम्रो खुसी हो भनेर मलाई हिम्मत दिनुभयो।’

दलतसँग विवाह गरेता पनि परिवारको साथ पाएकी मनिषालाई आफन्तीहरूले भने खूबै सराप्ने गर्थे। ‘धिमालकी छोरी भएर दलितसँग विवाह गरिन्। धिमाल थरको नाक काटिन्’।  तर साथमा माया गर्ने श्रीमान थिए। त्यसैले उनी आफन्तीहरूकाे गालीगलाैजलाई वेवास्ता गरिदिन्थिन्। 

परिवारसँग श्रीमानकाे थर सत्य बताएकी मनिषाले समाजसँग ढाटिरहिन्। काठमाडाैंमा बस्ने काेठा पाउनका लागि उनी श्रीमानकाे थर ‘श्रेष्ठ’ बताउँथिन्।

‘दलित भनेर हेप्थ्यो। काठमाडौंमा कोठा पाइँदैन थियो, त्यसैले हामीले थर लुकाएका थियौं’, उनले भनिन्,  ‘छोराछोरीको स्कुल भर्ना गराइदिँदा पनि थर श्रेष्ठ नै राखेका थियो।’

समाजसँग थर ढाटिरहेकी थिइन् मनिषाले तर एकदिन चिनेकै एक दिदीले भनिन्, ‘किन थर ढाटिराछन् तँ दलितसँग गइहालिस् अब ढाँटेर के हुन्छ र?’ ति दिदीकाे कुरा सुनेर मनिषालाई आत्मग्लानी भयो। त्यसपछि उनले श्रीमानको थर ‘नेपाली’ नै बताउन थालिन्। 

सानै उमेरमा विवाह गरेकी मनिषा अहिले श्रीमानसँग खुसी छन्। तर कहिलेकाहीँ घरायसी झगडा हुँदा उनी सोच्ने गर्छिन्, ‘सानै उमेरमा विवाह गरेर दुख पाएँ।’

खुसी र दुखी हुनु त संसारको रित नै हो। तर जीन्दगी जिउने तरिका जान्नुपर्छ। जसरी  २२ वर्षकी कुस्मा राई गुरुङ जिउँदैछिन्।

कुस्माले पशुपतिमा चिया बेच्न थालेको एक साता भयो। उनी मनिषासँगै चिया बेच्छिन्। पिठ्यूमा एघार महिनाकाे बच्चा च्यापेर।

कुस्माका श्रीमान पठाओ चलाउँछन्। उनलाई श्रीमान काम नगरी घरमै बस्न लगाएका छन्। तर कुस्माको मन घरमा अडिएको छैन।

कुस्मालाई छमेकी दिदी मनिषाले जस्तो काम गर्नुछ। दुई चार पैसा भएपनि कमाउने रहर छ। ‘दिनभरि घरमा एक्लै हुन्छ। अल्छि लाग्छ। त्यसैले दिदीसँगै चिया बेच्न आएकी हुँ’, उनले भनिन्।

चिया बेचेर दिनकाे ८ सय कमाउँछिन् कुस्मा। त्यहि कमाएकाे पैसाले उनले घरमा केही ठेकभर गरिरहेकी छिन्। उनी भन्छिन्, ‘बूढाले काम नगर बच्चा हेरेर घरमै बस् भन्नुहुन्छ। तर मैले पनि कमाए भने उहाँलाई पनि सजिलो हुन्छ नि।’

आफूले सकेसम्म काम गर्नुपर्छ भन्ने कुस्माको मान्यता छ। त्यसैले त उनी एघार महिने छोरा बोकेर चिया बेच्न पशुपति आएकी छिन्।

दुई हातमा चियाको थर्मस र पिठ्यूमा छोरा बोकेर हिड्दा उनलाई फर्कि–फर्कि हेर्ने गर्छन् मानिसहरू। अनौठो मान्छन्। तर कुस्मा भने आफ्नै काममा खटिरहन्छिन्।

‘मान्छेको आ–आफ्नो बाध्यताहरू हुन्छन्। दुनियाँको मतलब छैन मलाई। मेरो दुख मसँगै छ’, काम गर्दा लजाउनु नहुने बताउँदै कुस्मा भन्छिन्, ‘हामी महिलाले पनि सक्दा काम गर्नुपर्छ। ताकी दुई–चार पैसाको लागि कसैको अगाडि हात फैलाउनु नपरोस्।’ 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?