बिएल संवाददाता
डाेटी
म्याग्दीको काफल डाँडाबाट पुन समुदायका मनकारी मुहारसँग बिदा मागेर उकालो चढ्ने सुरुवातीमै एक अधवैसे आवाज सुनिन्छ, ‘माठामाठा आऊ पुगिहाल्छौ।’ उनको आवाजमा हिँडन गाह्रो भैरहेका यात्रुहरूप्रति सहानुभूति मिसिएको थियो। गन्तब्य टाढा नै छ कि भनेर अनुमानका भरमा मानसिक थकान बोकेकाहरूमा ऊर्जा थप्ने मलम थियो। अनि थियो धैर्यता र गतिशीलताका साथ यात्रा गर्न प्रेरित प्रेम र आत्मीयताले भरिएको सिकाइको सुन्दर लय।
कतिपय शब्दले स्थान विशेष, समुदाय विशेष फरक अर्थ दिइरहेका हुन्छन्। म्याग्दीका पुन समुदायमा बोलिने ‘माठा’ शब्दले सुस्तरी आरामले, नहतारिकन भन्ने अर्थ दिइरहेको थियो। सुदूरपश्चिममा माठा शब्द अबेला अर्थात ढिला भन्ने सन्दर्भमा प्रयोग गरिन्छ। सामान्यतया उच्चारणको तादम्यतादेखि अर्थको भाव पक्ष केलाउँदा केही हदसम्म मिल्दोजुल्दो नै लागिरहेको थियो।
मैले बाल्यकालमा गाउँघरमा सुनेको माठा शब्दलाई निकैबेर मनन् गरिरहेँ। यो लेख लेख्दै गर्दा सुरुमै सम्झनामा आइदियो त्यही शब्द। जहाँ देख्न थालेँ आराम, गतिशिलता, निरन्तरता, कर्मठपन, धैर्यता, र लगनशिलताको चिन्तन।
झण्डै तीन महिना अघि गरिएको अविष्मरणीय यात्रा थियो, करबाकेली काब्य यात्रा। जसका योजनाकार थिए, सामाजिक अभियन्ता एवम सेवानिबृत्त ब्रिटिस लाहुरे च्यामबहादुर पुन र लेखक, पत्रकार अमृत भादगाउँले। केही वर्ष अघि मात्रै म्याग्दीको बेनी बजारबाट पुनहिल जोड्ने उक्त रुटलाई कन्सेप्ट नेपाल नामक संस्थामार्फत भादगाउँलेकै टीमले करबाकेली इको ट्रेकका रुपमा चिनाएको थियो।
जंगली युगदेखि हालका दिनसम्म यात्राले मान्छेलाई बिभिन्न अनुभव संगाल्न सिकायो। नयाँ–नयाँ सोच र बिचार पैदा गर्न सिकायो। ती समय सापेक्ष गरिने यात्रा हुन् या जन्मदेखि मृत्युसम्मको बृहत आयाम बोकेका। जीवन जिउने क्रममा अपनाइने हरेक प्रकारका यात्राले केही न केही शिक्षा दिइनै रहे।
त्यसैले यात्राहरू जीवनका विद्यालय, विश्वविद्यालय भन्दा कम महत्वपूर्ण ठानिएनन्। उसो त मान्छेको जिन्दगी आफैंमा एउटा विश्वविद्यालय हो। र त मानवरुपि जीवनले यात्रुको पगडी भिरिरहेको छ। समयसापेक्ष जुर्न आएका स–साना यात्राले पनि हामीलाई ऊर्जापूर्वक बाँच्न सिकाइरहेकै हुन्छन्।
अक्षर जस्तै छरिएका हुन्छन् मान्छेका जीवनरुपी यात्राहरू। अक्षरलाई मिलाएर नै शब्द बन्छन्। शब्दले कुनै अर्थको आकार दिन्छ। शब्दलाई जब मान्छेले उच्चारण गर्न थाल्छ केही न केही नयाँ अर्थ भेटिन्छ। मन मस्तिष्कले छुट्टै खाले मिठास र आनन्दको अनुभूति पैदा गर्छ। कतै नोस्ट्याल्जिक बनेर त कतै कल्पना र चिन्तनमा डुब्न लगाएर। करबाकेली काव्य यात्राका क्रममा हिँडिएका ती गोरेटाहरू, पार गरिएका घुम्तीहरू र ती पहाडहरूले मलाई मेरो गाउँले जिन्दगी र विगतका दिन सम्झाइरहेका थिए।
दिनभर बसमा सवार कवि लेखक पत्रकार साइकिले र क्यामरामेनहरू सामेल भएको समूह बेनी बजारस्थित डल्फिन होटलमा पुगुञ्जेल अँध्यारोले पूर्णरुपेण डेरा जमाइसकेको थियो। एकातिर पूर्णिमाको रातमा आकाशमा टल्किएका ताराझैँ चारैतिर बत्तीले झिलझिलाकार थियो बेनी। अर्कोतिर बजारको बीचमा सिउँदोको सिन्दूरझैँ देखिने कालीगण्डकी एकनासले सुसाइरहेकी थिइन्। जो युगौदेखि एकोहोरो आफ्नै लयमा मस्तछिन्। शालीग्रामको खानी मानिने कालीगण्डकीको किनार धर्मावलम्बीहरूका लागि पवित्र तीर्थस्थल नै मानिन्छ। त्यही किनारमा पुग्दा सम्झनामा आइदिन्छन् राष्ट्रकवि माधव घिमिरेका कविताका पंक्तिहरू:
काली तिम्रा बगरबगरै आउला मुक्ति क्षेत्र।
पवित्र तीर्थस्थल मुक्तिनाथ हुँदै आउने कालीगण्डकीलाई सम्बोधन गरेर कवितामार्फत जीवनको दर्शन पस्केर गए घिमेरेले। नदीहरू सभ्यताका प्रतीक मानिन्छन्। कालीगण्डकी किनारमा पनि कतिपय सभ्यता र संस्कृति अङ्कुराए। बेनी बजार यिनकै किनारमा अवस्थित छ। जसलाई सम्बोधन गरेर गाइएको लोकप्रिय लोकगीत ‘बेनीको बजार, जता माया उतै छ नजर, किरेमिरे जाले रुमाल’ एकताका अधिकांशको जनजिब्रोमा झुण्डिएको थियो। उल्टोबाट (कोनिबे रजाव ताज यामा तै उछ रजन रेकिरेमी लेजा लमारु)समेत गुनगुनाएर आनन्द लिन्थेँ कुनै समयमा। तर, पुग्न सकेको थिइनँ त्यहाँ। कल्पनामै सिमित थियो बेनी। त्यही बेनीको झिलमिलाकार देखेर मनमा अनेक कुरा खेलिरहे।
बेनी बजारबाट झण्डै तीन किलोमिटर दूरी पार गरेपछि पुगिन्छ गलेश्वर मन्दिर। दोश्रो दिन बिहानै कवि एवम् पत्रकार अभय श्रेष्ठ र राजकुमार गजुरेलका साथ पुगेको थिएँ मन्दिर परिसरमा। निकै ठूलो शालिग्राममाथि निर्माण गरिएको छ गलेश्वर महादेवको मन्दिर। जहाँबाट देखिन्छन् हिमाल र पहाडका चुचुराहरू। मन्दिर मुन्तिर बगिरहेकी छन् काली गण्डकी। त्यही बाटो भएर पुगिन्छ मुक्तिनाथ।
गलेश्वर मन्दिर भ्रमणबाट फर्किएपश्चात सुरु हुन्छ काफलडाँडाका लागि यात्राको तयारी। कुनै युद्धका लागि सवार लडाकु जस्ता झोला भिरेका पाइलाहरू बिस्तारै उकालो चढ्न थाल्छन्। जतिजति उकालो चढ्दै गयो उतिउति सुन्दर देखिन्थ्यो तलतिर देखिने बेनीको दृश्य।
बाटोमा उकाली–ओराली गरिरहने पाइलाहरू देखिएकै हुन्थे। कोही बेनीतिर बिक्रि गर्न दहीदूध, तरकारी फलफुल लगिरहेका हुन्थे त कोही बजारबाट सरसामान किनेर उकालो चढिरहेका हुन्थे। जीवनको गोरेटोमा कैयौँ प्रेमिल मुहार ओझेल परेझैं, कैयौँ भाकाहरू छुटेझैं बिस्तारै ओझेल पर्दै गयो बेनी। मल्लाज फाँट पुग्नै लाग्दा बाटोमा देखा परिन् एक युवती। उनले बोकेको सानो झोलामा प्रस्टै देखिन्थे अम्बाका दाना। गौड्या भेटमा एक अपरिचितसँग प्रश्न तेस्र्याएँ, ‘अम्बा बेच्नु हुन्छ?’
उनले सहज रुपमा उत्तर दिइन, ‘बेनीमा रहेकी दिदीलाई दिन ल्याएकी हुँ र....., खाने भए खानु न त।’
‘भै गो दिदीलाई भनेर लग्दै हुनुहुन्छ’, कवि आख्यानकार अनुपमा रोसी बोलिन्।
‘हैन हैन खानु न’, तिनले अम्बा निकाल्न थालिन्।
हामीले भैहाल्यो भन्दाभन्दै पनि ती महिलाले उदारतापूर्वक झोलाबाट निकालेर झण्डै दुई केजी अम्बा सबैलाई बाँडिन्। गाउँको निर्दोष पवित्र र सत्कारी मन थियो उनीसँग। पाहुनाको सत्कार गर्न भनेर दिइन्। रोसीले पैसा दिँदा निकै अनकनाइन्। सुरुमा त लिन नै मानिन्। निकै कर गरेपछि बल्ल समातिन्। समूहमा अरुहरूले दिएको पैसा लिदा पनि लजालु मुहार अनकनाइ रहेकै थियो। लोभ लालच बिहीन थिइन् उनी। गाउँको अर्गानिक अम्बाझैं पाहुनाको सेवासत्कार गर्ने एक निर्दोष संस्कारी मन थियो उनीसँग। मल्लाजको फाँटझैँ विशाल हृदय र सहयोगी मन भएकी ती युवती गाउँको पहिचान पनि थिइन्।
मल्लाजको फाँटमा पुग्दा देखिन्थे झुलेका धानका बाला र मुठ्ठी कसेजस्ता कोदाका कपनी। धानका गरासँगै कोदाका गरा देखिएपछि सम्झनामा टुपलुक्क आइपुग्छन् स्व.लोकबहादुर क्षेत्रीको गीतका हरफ:
धानको बाला कोदाको कपनी
दिनको झल्को रातीको सपनी
सारदीययाममा देखिएको मल्लाज फाँटको सौन्दर्यले मनमा झल्को लगाइरह्यो। हावाको वेगसँगै बयली खेलिरहेका थिए धानका बाला। कृषकले खेतमा काम गरिरहेको दृश्यले जीवनका कैयौँ पाटाहरूलाई सम्झाइरह्यो। विगतका राजा रजौटाहरूको इतिहास बोकेको उक्त भूगोल सपनामा देखा नपरे पनि वर्णन गर्न योग्य नै थियो।
लटरम्म फलेका सुन्तलाले घरको शोभा नै छुट्टै देखिने अर्को सुन्दर ठाउँ थियो बासखर्क। जहाँ बिहानको खाना तयार पारिएको थियो। यात्राभरीकै स्वादिष्ठ र अविष्मरणीय रह्यो बासखर्कको खाना। बिहानको खानापछि टन्टलापुर घाममा गफ्फिदै उकालो चढिरहेको थियो एक डफ्फा। अभिव्यक्तिशून्य मन लिएर यात्रारत थिए पाइलाहरू। हावाहूरी धाम पानी, शीत तुसारोले वैँशमै सपना उडाएको तानाशाह जस्तो देखिने महभीरले प्रश्न गरेझैं लाग्थ्यो – तिमी कुन देशका हौ?
हेर्दै डरलाग्ने त्यो महभीरको पनि छुट्टै सौन्दर्य छ। छुट्टै इतिहास छ। यो खाल्डोको जस्तो विषादी मिश्रित मन छैनन् त्यहाँ। दाँत फुस्केका गिजाझैं सदा हाँसिरहेको हुन्छ महभीर। दुःखमा पनि रमाउन सक्ने एक छुट्टै संसार छ उसँग। त्यहाँ मौनता छ, वीरहको गीत छ। धैर्यता र सहनशीलता छ। जीवनको प्रेमिल सुस्केरा छ। दुःखमा उभिन सिकेका पाहाडसँग के छैन र? पहाडका तिनै भीरहरूले प्रतिनिधित्व पनि त गरिरहेका हुन्छन् सभ्यता र इतिहासको। जति ठडिए पनि जति डरलाग्दा देखिए पनि अहंकार छैन तिनमा। कयौंका मनमा केही न केही अभिव्यक्ति पैदा गरिरहैकै हुन्छन् तिनले। हाम्रा पहाडहरू विविध कारणले प्रिय थिए र छन्।
अभय श्रेष्ठ, कुमारी लामा, अनुपम रोशी, सागर उदास, प्रगति राई, प्रभा बराल, घनश्याम पौडेल, तारानाथ पहारी, राजकुमार गजुरेल, रञ्जन राजभण्डारी, गोपाल श्रेष्ठ, दिनेशनारायण श्रेष्ठ, सुरेन्द्र राना, भवानी शिलाकार, चामबहादुर पुन, राजकुमार सेढाईलगायत १८ जना मनकारी रसिकहरूको सानो चिटिक्कको समूह।
अविष्मरणीय थियो करबाकेली काव्य यात्रा। संस्कृतमा एउटा भनाइ छ: अरसिकजनसंम्भषणतो वरमिह रसिकेन समं कलहः (पाषाण हृदय भएका व्यक्तिसँग कुरा गर्नुभन्दा रसिक जनसँग झगडा गर्नु नै वेश)। करबाकेली काव्य यात्रामा निस्केका सबै जना काव्यिक मन र रसिक हृदय भएकाहरू नै थिए। त्यस्ता हृदयसँग झगडा नै गर्नु पर्दा पनि छुट्टै आनन्द आउछ होला जस्तो लाग्छ। त्यस्तासँगको झगडामा पनि प्रेम नै मिसिएको हुन्छ होला।
महभिरको बस्तीमा खाजा खाएर त्यहाँका दिदीबैनी आमाहरूसँग बिदा मागी उकालो चढेका पाइला प्राय: थकित भैसकेका थिए। गन्तब्य आउने आशैआशमा झपक्कै रात परिसकेको थियो। जंगलको ठाडो उकालो। चराचुरुङ्गी र जनावरहरू आ–आफ्नो बासस्थानमा पुगिसकेका थिए। बाटोमा च्यामबहादुर दाइले महभीरको कथा अनि पुर्खाको इतिहास सुनाइरहे।
अलिखित काव्य थियो महभीर र त्यहाँका पुनहरूका पुर्खाको इतिहास। मौनतामै उकालो चढिरहेका मनहरू बोलाउँदा पनि झर्को मान्ने जस्ता देखिन्थे। विश्राम गरेपछि उठ्ने जाँगर नै हुँदैन थियो। यनकेन प्रकारेण आठ बजे राती करबाकेली मन्दिरको आँगनमा पुगिन्छ। जहाँ अतिथि सत्कारका लागि पर्खिरहेका थिए पाहुनाघरका संचालक।
करबाकेली बाबाको मन्दिर, पुन समुदायको संस्कृति झल्काउने संग्रहालय र पाहुनाघर भएको रमणीय स्थान। जहाँबाट हिमालको दृश्यावलोकन गर्न सकिन्छ। संग्रहालय इतिहास सिकाउने पाठशाला हुन्। समुदायमा विगतको जिन्दगीको मर्म दर्शाउने सभ्यताका नमुना पनि हुन्। हाम्रो संस्कृति र सभ्यताका कैयौँ पाटाहरूको अध्ययन अनुसन्धानका लागि महत्वपूर्ण मानिने संग्रहालयले विगतको याद दिलाएर वर्तमान र भविष्यकाबारे चिन्तन मनन् पनि गर्न लगाइरहेका हुन्छन्।
अन्नपूर्णा ८, म्याग्दी काफलडाँडास्थित पुन समुदायका कुल देवता करबाकेली बाबा थान(मन्दिर) तथा संग्रहालय निर्माणमा करोडभन्दा बढी लगानी लगाइसकेका मनकारी मनुवा हुन् च्यामबहादुर। लामो समय बेलायती सेनामा रहेर काम गरेका उनी अचेल त्यसकै संरक्षण र प्रचारप्रसारमा जुटेका देखिन्छन्। त्यस ठाउँको संरक्षण र प्रवर्धनका लागि लगानी लगाएर अघाएका छैनन् उनी। सिंहदरबारमा बस्ने मुसाहरूलाई लाज लाग्दो हो त, सिक्न मन लाग्दो हो त बुझ्दा हुन्, चामबहादुरहरूको योगदान। बेसर्मीहरूका लागि को हुन् चामबहादुर को हुन् महावीर के परवाह।
पश्चिम नेपालमा बसोबास गर्ने पुन समुदायका कुल देवता मानिन्छन् करबाकेली बाबा। जसको थान म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडास्थित रामचन कुलचन डाँडामा निर्माण गर्न लगाए च्यामबहादुरले। थानभित्र करबाकेली बाबा, उनका दुई श्रीमती हिमला एवं फिमला र छोराहरू रामचन र कुलचनका मूर्ति राखिएका छन्। करबाकेली मन्दिर छेवैमा गरिएको औपचारिक कार्यक्रममा रचना वाचनसँगै जब सुरु हुन्छ पुन समुदायको सास्कृतिक कार्यक्रम लाग्छ वरपरका डाँडा र हिमाल पनि मौन भएर हेरिरहेका छन्। श्रवण गरिरहेका छन्।
करबाकेली पदमार्ग क्षेत्रमा प्रायः पुन समुदायको बसोबास रहेको छ। सोरठी नाच्ने पुख्र्यौली चलन नै रहेछ। संस्कृतिका गहन र ओजपूर्ण पाटाहरू देखिन्छन् त्यहाँ। दुःखमा होस् वा सुखमा कतै गाउने र कतै नाच्ने गरिन्छ। पुरुषहरू महिलाको भेषमा नाच्दाको कला छुट्टै थियो। यसरी महिलाको भेषमा नाच्ने कलाकारलाई मारुनी भनिदो रहेछ। मेरा लागि यी यावत कुराहरू एक प्रकारले सिकाइ नै थिए।
काफलडाँडाका श्रद्धेय स्नेहिल मनहरूसँग बिदा लिएर आइसकेपछि झण्डै ४ घन्टाको हिँडाइ पश्चात पुगियो फूलबारीस्थित याम पुनको फूलबारी गेस्टहाउसमा। विभिन्न जातका जंगली फूल फूलेर शोभायमान देखिने म्याग्दीको एउटा खर्कको नाम हो फूलबारी। याम पुनका अनुसार पहिला–पहिला बैशाखदेखि भदौसम्म रिमा, राम्चे र काफलडाँडाका गाउँहरूबाट गाईभैंसी ल्याएर फूलबारीका खर्कमा राखिन्थ्यो। अचेल गोठ राख्ने चलन हट्दा पर्यटकीय सम्भावनालाई मध्यनजर गरी गेष्टहाउस बन्न थाले।
२,९२५ मिटर उचाइमा रहेको उक्त स्थानबाट अन्नपूर्ण हिमाल, बराह हिमाल, निलगिरि, धम्पुस पिक, टुकुचे पिक, धौलागिरि र गुर्जा हिमालको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ। सूर्योदयको समयमा देखिएका हिमालका चुचुराहरूले एक प्रकारको मोहनी नै लगाइरहेका थिए। पुनहिलको आधारशिविर मानिने फूलबारीमा भोलिपल्ट बिहान क्यामेरामा हिमालको दृश्य कैद गर्नेहरू उस्तै थिए। खरानी छरेझैँ देखिन्थ्यो भुँइभरि छरिएको तुसारो।
गुराँसको घना जंगलकोबीचमा रहेको फूलबारी बिहानको समयमा निकै नै सुन्दर र मनमोहक देखिन्थ्यो। फूलबारीबाट डेड घन्टाको उकालो चढेपछि पुगिन्छ पुनहिल। जुन क्षेत्र सूर्योदय र सूर्यास्तमा देखिने हिमालको दृश्यावलोकनका लागि दिनहुँ थुप्रै स्वदेशी तथा विदेशी पाहुनाहरूले भरिभराउ हुन्छ।
पुनहिलबाट आँखै अगाडि बडेमानका चाँदीका पर्वत जस्ता देखिन्थे हिमालहरू। तिनै हिमालको टुप्पोमा घुमिरहेको देखिन्थ्यो बादल। बेलाबखत चुचुरा छुउलाझैं गरी उडिरहेका देखिन्थे चिलगाडी पनि। लाग्थ्यो कालीदासको संन्देशवाहक बादल घुमिरहेको छ हिमालका चुचुराहरूमा। र शायद खबर पुर्याउँदैछ त्यसले ती हिमालहरूलाई कि, कुनै यक्षजस्ता भावुक पाइलाहरू आउँदैछन् तिम्रो सौन्दर्यको वर्णन गर्न भनेर।
लामो यात्रा पार गरेर थकित भएका केही थान प्रेमिल आँखाहरू एकोहोरो हेरिरहेका थिए तिनै हिमाललाई। प्राकृतिक हिसाबले विशिष्ट छ उक्त पदयात्राबाट देखिने सौन्दर्य। ऐतिहासिक, साँस्कृतिक र प्राकृतिक हिसाबले विराट छ पदयात्राको भूगोल। जति बयान गरे पनि अधुरै रहन्छ चामबहादुरहरूको संघर्ष र योगदानको कथा।
३,२१० मिटर उचाईमा रहेको पुनहिलबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे लगायत पक्तिवद्ध उभिएका हिमालको चित्ताकर्षक दृश्यावलोकन पश्चात हाम्रो यात्रा तय हुन्छ घोडेपानी बजारका लागि। जहाँ थुप्रै स्तरीय होटल थिए। घोडेपानीमा पर्यटकको भिडभाड थियो। घोडेपानीबाट उल्लेरी हुँदै पोखराका लागि यात्रारत रहँदा त्यहाँ पनि बाटोभरि उस्तै देखिन्थ्यो पर्यटकको लर्को।
यात्रामा पर्यटनकर्मी, साइकिले र कवि लेखकहरू देखिन्थे आफ्नै मस्तिमा। हातहातमा क्यामेरा र मोबाइल सोझ्याएर कैद गरिरहेका थिए विभिन्न खाले दृश्यहरू। उकालो, ओरालो र तेस्रा बाटोको हिँडाइसँगै देखिएका मनमोहक दृश्य, बासस्थानमा पाइएका अर्गानिक खाना र खाजाले दिएको आनन्द छुट्टै थियो। पश्चिम नेपालका पुन समुदायको संस्कृतिको अवलोकन, तिनले गरेको आत्मीय सत्कार र प्राकृतिक सौन्दर्यसँग रमाएर फर्केको पनि धेरै दिन भैसक्यो। छोडेको छैन त्यसको सम्झनाले।
त्यस यात्रालाई सम्झेर बेलाबखत मनमा अनेक तरङ्ग पैदा भैदिन्छन्। सोच्न थाल्छु, उता च्यामबहादुरहरू सुख सयल छोडेर समुद्रपारीबाट ठाउँको लागि फर्किए र पदयात्राको ट्रयाक खोल्न थाले। संस्कृतिको संरक्षण र सम्वर्धनमा तल्लीन भैरहे। यता सिंहदरबारका गोसाइहरू भने सधै उस्तै उद्यत भैरहे, केवल विश्वासघात र भ्रष्टाचारका ट्याकहरू खोल्नमा।