
बिएल संवाददाता
काठमाडौं
हाल अमेरिकामा रहेका एक समयका चर्चित लोक गायक भगवान भण्डारीले काठमाडौं महानगरका मेयर बालेन साह र रास्वपा सांसद सुमना श्रेष्ठको संयोजनमा नयाँ पार्टी खोल्ने लगभग पक्कापक्की भएको दाबी गरेका छन्।
पुराना राजनीतिक पार्टीबाट वाक्कदिक्क भएका नेपाली युवापुस्ताले बालेनको नेतृत्वमा नयाँ राजनीतिक दलको माग गरिरहेका बेला भगवानको स्टाटसलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
यद्यपि यस बारेमा बालेनको सचिवालय र सुमनाले कुनै औपचारिक खुलासा गरिसकेका छैनन्।
स्रोतका अनुसार सुमना रास्वपा नेतृत्वबाट सन्तुष्ट छैनन्। उनी ०८४ को निर्वाचनमा देशभर स्वतन्त्र उम्मेद्वार खडा गर्ने पक्षमा रहेको बताइसकेकी छन्। यद्यपि उनी ०८४ सम्म रास्वपाबाट अलग्गिने लगभग तय भइसकेको स्रोतको दाबी छ।
भगवान भण्डारीले बुधबार फेसबुक ग्रुपमा बालेन, सुमना, धरानका मेयर हर्क साम्पाङसहित २० जना युवा नेताहरू जोडिएर नेपालको राजनीतिको बारेमा गम्भीर छलफल भएको खुलासा गरेका हुन्।
उनले पुराना भ्रष्टाचारीलाई विस्तथापित गर्न नयाँ राजनीतिक पार्टी खोल्ने विषयमा सबै सहमत भएको र एकजना संयोजक र अरू सहसंयोजक रहने कुरामा पनि सहमत भएको उनले बताएका छन्।
भगवानले सुमनालाई स्योजक बनाउने विषयमा केही असहमति देखिएपनि समग्रमा सबैले समर्थन गरेको दाबी गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘आज (बुधबार) फेसबुक ग्रूपमा जोडिएर नेपालको राजनीतिको बारेमा निकै गम्भीर विषयमा कुराकानी भयो। राजनीतिलाई एकदमै नयाँ शिराबाट उठाएर पुराना भ्रष्टाचारीलाई बिस्थापित गर्ने कुरामा सबै सहमत भएपनि हर्कजीको जिद्धीपन अलि बढी नै थियो। बालेनजी सोह्रै आना सहमत हुँदा सबैको समर्थन रह्यो। एक जना संयोजक र सबै सहसंयोजक रहने कुरामा पनि सबैको ताली बज्यो, सुमना श्रेष्ठ संयोजक हुने कुरामा केहि असहमति देखिएपनि समग्रमा सबैको समर्थन रहेको पाइयो।
पार्टीको नयाँ नाम राख्ने कुरामा सबै एकमत भएको पाएँ! २० जना जोडिएर गरेको लगभग ६५ मिनेटको बहस पूर्ण सकारात्मक रहेको महसुस गरेको छु!’
१ .
२ .
३ .
४ .
५ .