मङ्गलबार, २९ अप्रिल २०२५

सुदूरपश्चिममा विभेदका छाउ गोठहरू

News Image
• • •

जेठाजु भान्सामा देख्दु जेठानी छुई छन् कि 
कोइ दुखारी कोइ सुखारी भगवान दुई छन् कि

गाउँघरमा निकै अघिदेखि सुनिँदै आएका हुन् डेउडा गीतका यी पंक्तिहरु। महिनावारी भएकी महिलालाई भान्सामा त के घरभित्रै जान रोक छ अधिकांश ठाउँमा। यहाँ दोस्रो पंक्तिले गजबको प्रश्न तेर्स्याइएको छ– कोही दुःखी छन्। कोही सुखी देखिन्छन्। कतै भगवान पनि दुई त छैनन्? यो एक प्रकारको गहिरो व्यङ्ग्य पनि हो। भगवान भरोसामा बाँचेकाहरुले तिनै देवी देउताप्रति जनाएको असन्तुष्टि पनि हो।

सदियौँदेखि महिलाहरुका पीडा काव्यात्मक शैलीमा उजागार भएकै छन्। बेलाबखत शालिन ढंगले ननिस्केका हैनन् बिद्रोहका स्वरहरु पनि। तर ती आएनन् सुनुवाइमा। उखेलिएनन् धार्मिक कट्टरता र अन्धविश्वासका खम्बाहरु।

मध्य तथा सुदूरपश्चिमका अधिकांश महिलाको जिन्दगीका पल्लाहरु दुःखको भूमरीभित्र लपेटिएका देखिन्छन्। त्यहाँ एउटा मात्रै समस्या छैन। दर्जनौँ समस्याले लपेटिएका छन्। कतिपय बस्तीमा पुरानै सोच मौलाएको छ। पत्रपत्रिकामा कैयौँपल्ट प्रकाशित भइसके छाउगोठमा मृत्यु भएकी महिलाको दर्दनाक समाचार। एनजीओ, आइएनजीओको वर्चश्व रहेको मुलुकमा तिनै संस्थाका प्रतिनिधि पुग्छन्, समाधान गर्ने नारा लिएर। राज्य चलाउनेहरुले पढ्छन् वा पढ्दैनन्, सुन्छन् वा सुन्दैनन्, देख्छन् कि देख्दैनन्। विकृति विडम्बना र अन्धविश्वासका घाउ ठूल्ठूला छन् गाउँघरतिर।

घाउमा निको हुने मलम लिएर जान्छन् कतिपय संघसंस्थाहरू। घाउ निको हुनै लाग्दा फेरि कोट्टयाउन पनि लगाउँछन् त्यही घाउ। सबैको नारा उही हुन्छ– छाउ गोठ भत्काउनुपर्छ। एकपटक पुग्छन् त्यो ठाउँमा र भत्काउन लगाउँछन्, दुई चार वटा छाउ गोठ पनि। तर भत्किदैनन् समाजको सोचमा उभिएका छाउगोठहरु। “मानिस बस्ने घरको माथिल्लो तलामा सुत्दा के पो हुने हो’? भन्ने खालको त्रास बोकिरहेकै छन् दूरदराजका अधिकांश महिलाहरु।  यहाँ कस्तो खाले मनोविज्ञानले काम गरिरहेको छ प्रष्टै छ।

सुदूरपश्चिम अडेको देखिन्छ धार्मिक र सांस्कृतिक मान्यतामा। देवताहरुको देश भनेर भने विगतमा। प्राचीन डोटी राज्यको पूर्वमा कर्णाली नदी उत्तरमा सिंजाली सीमाना, दक्षिणमा तराई र पश्चिममा गडवाल थियो। त्यही डोटी राज्य अर्थात् त्यस क्षेत्रलाई पूर्वजले भनिदिए देवाटवी। देवाटवीको अर्थ हुन्छ देवताहरुको वासस्थान। देवाटवी अपभ्रङ्सित भएर डोटी हुन गएको मान्यता छ एकथरि विज्ञहरुको। त्यस क्षेत्रमा छ्यापछ्याप्ति भेटिन्छन् मठ मन्दिरहरु। तिनै मठ मन्दिरका धामी झाँक्री र पुजारीहरु थिए विगतमा आशा र भरोशाका केन्द्र। तिनै बने विश्वासका थुङ्गा पनि। अहिले पनि त्यो आस्था र भरोसाको डोरी दुब्लाउन सकेको छैन। आजका दिनमा पनि चेतनाको हावाले छुन नसकेका विकट वस्तीका मानिसहरु पाती चढाउँदै हात जोड्दै भाकल गर्दै बिताइरहेका छन् जिन्दगी। 
कहावत पनि बनाइ दिए– माल(मधेश÷तराई) खानू जुझेर पाहाड खानू पुजेर (तराईमा बाझेर निडर बनेर बस्न सकेपछि चल्छ जिन्दगी।  पाहाडमा पाठ पूजा गरेर शक्तिपिठको आराधना गरेर चलाउनु पर्छ जिन्दगी )। यस्ता बिभिन्न कहावतहरुले माझ्दै विश्वस्त तुल्याइरहे अधिकांश मनलाई। अनि हरेक कुरा लगेर जोड्न थाले देउतामा। 
कथा भन्छ जिससको मृत्यु भएको केही समय पछि देखा पर्छन् उनी पृथ्वीमा। ठुलो भीड जम्मा हुन्छ। पादरी कहाँ खवर पुग्छ उस्तै वर्ण, उस्तै कद, उस्तै बोली। जिसस फेरि आएछन्। हत्तनपत्त छेउमा पुगेर पादरी सोध्छन् तपाई को ? उत्तर आउँछ, ‘म जिसस क्राइष्ट। चिनेनौ ?’ 
‘कहाँको जिसस। जिसस मरिसके। यसलाई बाँधेर कोठामा थुनिदेऊ’ पादरीले आदेश दिन्छन्  । जिससका हात खुट्टा बाँधेर राखिन्छ। बिस्तारै मान्छेहरु आआफ्नो बाटो लाग्छन्। सबैजना गैसकेपछि आउँछन् पादरी। उक्त व्यक्तिका हातखुट्टा खोलि दिन्छन्। खुट्टामा टाउको राखेर ढोग्छन्। जिसस भन्छन्, ‘बल्ल चिन्यौ ?’
‘चिन्न त अघि नै चिनेको थिएँ, तर के गरुँ। हजुर स्वर्गमै बस्नोस्। यहाँ नआइदिनोस्। हजुर स्वयम यहाँ आइ दिए पछि मेरो के हुन्छ। मैले कहाँ जाने ?’  
समाजका तिनै पादरी, पण्डित, धामी, झाँक्री, पुजारी, जमिन्दार लगायतका हैकम चलाउन खोज्ने पुरुषहरुले बनाए बिभिन्न नियमहरु। भनिदिए यसो गर्दा यसो हुन्छ। 
महिनावारी भएकी महिलालाई छिर्न दिइएन घरभित्र। बन्देज गरियो गोरस खान। सजिलैसँग भनिदिए त्यस्तो बेलामा खानु हुँन्न। देउता रिसाउँछन्। कतैकतै त त्यो समयमा सूर्यलाई समेत हेर्नु हुन्न भनिदिए। महिला बिना घर चल्दैन भन्ने थाहा छ सबैलाई। यो हिसाबले घरको धुरी भन्ने बिम्बले स्वयम् महिलालाई बुझाउनु पर्ने हो। तर त्यो धुरी सदैव पुरुष नै ठानियो। र त सजिलै भनिदिए घरको धूरीमा दृष्टि पु¥याउनु हुन्न। मन्दिरको मस्तिरबाट हिँड्नु हुन्न। मुन्तिरबाट हिँड्नु पर्दछ। यी सारा नियम उत्पादन गरिएका हुन् समाजका ठालु र रवैयाका कर्पच बोकेका पुरुषहरुबाटै। हरेक कुरा देउतासँग जोडेर डर देखाइयो। जसको प्रत्यक्ष मारमा परे दलित र महिलाहरु। दलित र महिलाका आआफ्नै खाले पीडा छन्। 
महिनावारी भएकी महिलालाई छुई भएकी वा पर सरेकी भनिन्छ। तिनीहरुले पुरुष वर्गलाई छुनु हुँदैन। तर राती चोरेर तिनै केटीहरुसँग डेउडा खेल्न पुगेकै पुगेकै थिए युवाहरु। बाहिर सजिलैसँग भनिदिए फलका रुख छुँदा फलफूल कुहिएर झर्छन्। उनीहरुलाई खबरदारी गरियो करेसाबारीमा काँक्रा, फर्सी, खुर्सानी लगायतका लहरा, बोट आदि छोयो भने चिचिलामै कुहिन्छन् फलहरु नछुनु भनेर। तर भनिएन त्यतिबेला धान कोदो मकै जस्ता बाली पनि छुनु हँुदैन भनेर। किनकी विगतमा तरकारी खेतीमा त्यति जोड दिइएको थिएन। करेसाबारीमा खासै काम हुँदैन थियो। तर धान, मक,ै कोदो, गहुँ तोरी खेती धेरै नै गरिने र काम बढी हुने हुँदा बनेन् कुनै नियम। 
त्यहाँका महिलाहरुले भोगेको पीडा डरलाग्दो छ। सधैं बाङ्गै बन्यो तिनीहरुको जिन्दगीको निदाल पनि। समाजका ठूलाबडा भनाउँदादेखि देउतासम्मको डरत्रास र त्यही अन्धविश्वासले गर्दा नै ओढ्न बाध्य भैरहे पीडाका च्यादरहरु। अशिक्षितभन्दा बढी नै रुढीग्रस्त र ढोंगी देखिन्छन् पढेलेखेकाहरु। 
धर्मका कट्टरपन्थिहरु भन्ने गर्दछन्, देउताले सबैलाई न्याय गर्छन्। सबैको कल्याण गर्छन्। उनका लागि सबै सन्तान सरह छन्। एकातिर यी उद्गारहरु सुनिन्छन् भने अर्कोतिर दुःख कष्ट पुग्ने हरेक कुरामा जोडिन पुग्छन् तिनै देवता। कति सजिलैसँग भन्न सिकाइ दिए  – देउता रिस्याउन्या हुन्।
आजका मितिसम्म खालि महिनावारी मात्रै देखे अधिकांशले। यसका अलावा अरु पनि थुप्रै पीडा सहेर जिन्दगी घिसारी रहेका छन् तिनीहरुले। उसो त छोरीलाई सन्तानका रुपमा गणना नै गरिदैन। कसैले सन्तान कति छन् भन्यो भने। अधिकांशले छोराको संख्या मात्रै बताउँछन्। छोरी मात्र हुनेहरु उदाश मुद्रामा भनिदिन्छन्– सन्तान नइथिन्। छोराको चाहनामा बहुविवाह गर्नेको संख्या पनि उत्तिकै छ। छोरा पाइनस् भनेर श्रीमतीलाई रातदिन कुट्नेहरु पनि नभेटिने हैनन्। खेतबारीमा महिलाले हलो बोकेर लगिदिए पछि गोरु जोत्न तयार हुने पुरुषहरु पनि देखिन्छन्। जाँड खाएर घरमा आई यातना दिनेहरुको त कुरै भएन। कतिछन् कति।
आपूm माथिको अन्याय र अत्याचारका बिरुद्ध आवाज उठाउन गाह्रो छ महिलालाई। माइतिले भनिदिन्छन् यता आउने हैन। आफ्नो घर खान सिक्नु पर्छ। जग्गा जमिन श्रीसम्पत्ति जायजेथा सबै लोग्नेसँग मात्रै हुन्छ। कानुनी बाटोमा हिँड्ने सोच बनाउँदा पनि प्रश्न उब्जिन्छ भोलि कहाँ जाने ? उल्टै अरु लाल्छना लगाउन बेर लाउँदैनन्। चार छ महिना भारतमा दरवानी गर्न गएको लोग्नेकै बाटो हेर्नु पर्छ मिठो मसिनो खान र राम्रो लगाउन। ती महिलाहरुले आपूm माथि भएको अन्याय बिरुद्ध मुद्दा दायर गरेर जितिहाले छन् भने पनि कसरी गुजार्छिन त्यसपछिका दिनहरु। 
त्यो त्यही समाज हो जहाँ व्यक्तिगत रुपमा पुरुषलाई असहज भएका पाटाहरु सजिलै परिवर्तित भए। जस्तै उहिले ब्रह्मण समुदायमा विवाहित महिलाले धोती फेरेर भान्सामा खानु पथ्र्यो। भान्साको आगो ननिभ्दै खाइसक्नु पथ्र्यो। दिउँसो भोक लाग्दा आश्विन कार्तिक तिर चिउरा, सिरौला चपाउँथे भने अरु बेला मुखमा चामलको फाँको हालेर काममा हिँड्नु पथ्र्यो। सबै सिजनमा फलफूल पाइने कुरै भएन। कुनै समयमा पाइहाले पनि केटाकेटी बुढापाकालाई बाँड्दै गर्दा आफुले त चाख्ने मात्र न हो। यसरी बिहान खाना खाएपछि एकै चोटी बेलुका खानु पथ्र्यो। त्यो चलन बिस्तार बिस्तारै सिध्दिदै गयो। यसमा परिवर्तनकारी भूमिका पनि पुरुषकै हो। पुरुषकै आडमा महिला पछिल्लो समय लुगा नफेरिकन भान्सा बाहिरै खाना खान थाले।  त्यो हुनुको पछाडीको कारण कुनै उदार र क्रान्तिकारी सोच हो भन्ने पक्षमा म छैन। त्यो नयाँ नयाँ प्रेमको स्वीकारोत्ति हो। पुरुषले घरबाहिर जाँदा आफुसँगै लग्नु पर्दा बेहर्नु पर्ने असहजताको कारण पनि हो। 
यहाँनेर प्रश्न उब्जिन सक्छ त्यो प्रेमको स्वीकारोक्ति पहिलेका पुरुष र महिलामा किन लागु हुन सकेन त ? त्यतिबेला सानै उमेरमा बिबाह गरिन्थ्यो। खेतीपातीमै अर्थात आमा बुवाकै कमाइमा निर्भर रहनु पर्दथ्यो। अरुको सामु श्रीमान् श्रीमतिको बोलचाल नै हुँदैनथ्यो। दुई जना सँगै जाने भन्ने त कुरै भएन। राती सँगै सुत्दा समेत गाइगुइ गरेको अरुले सुन्लान कि भनेर गफगाफ गर्न डराउँथे। घरमा बढी हैकम सासूससूराको चल्थ्यो। आफ्नै बच्चालाई समात्न पनि कोही नभएको मौका छोप्नु पर्दथ्यो। आमा बुवा अर्थात आपूmभन्दा ठुलाबडाको सामु सन्तानलाई बोक्न सक्दैन थिए। बोकी हाल्यो भने सीधै भनिदिन्थे कसो उत्ताउलो रैछ। 
दुःख र पीडाको पराकाष्ठा नागेपछि हराउँदै जान्छ डर। बढ्दै जान्छ शाहस। अराजक बन्नु पर्ने परिस्थिति पनि ल्याउछ समयले। तर त्यो समय कुर्न थाल्ने हो भने त्यहाँसम्म जवानीमै धर्तीबाट बिदा भैसकेका हुनेछन् कैयौ युवतीतीहरु। परिवर्तन ल्याउन छाउ गोठ भत्काएर सजिलै समस्याको समाधान हुनेवाला छैन। अझैं पुरुषकै कमाइमा निर्भर भएर कुवाको भ्यागुतोझैं जिन्दगी जिउनु परिरहेको छ त्यस क्षेत्रका महिलाले। यसको लागि हरेक महिलालाई अनिवार्य रुपले शिक्षित तुल्याउने तर्फ राज्यले कदम चाल्नु पर्छ। उनीहरुलाई आयआर्जनको मार्ग प्रशस्त गरिदिनु पर्छ। अनिवार्य रुपमा शिक्षा र रोजगारीको गोरेटो तय गर्नु पर्ने देखिन्छ। तब मात्रै तिनमा शाहसको बीज पलाउने छ। नत्र पुरुषबादी, अन्धविश्वासको जालोमा जेलिएको समाजमा दुर्गुम बस्तीका कथा व्यथाहरु त्यति छिट्टै  सजिलै कम होलान् भन्न सकिन्न। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?