मङ्गलबार, १९ नोभेम्बर २०२४

सडक बत्ती जडानमा भ्रष्टाचार

News Image
• • •

गोलबजार नगरपालिकामा जडान गरिएको सडक बत्तीमा भ्रष्टाचार भएको देखिएको छ।

आर्थिक वर्ष २०७९/०८० मा गोलबजार नगरपालिकाले नगरस्तरीय योजनामा जडान गरेको ११७ थान सडक बत्ती प्रतिगोटा २५ हजारका दरले खरिद गरी जडान गरेको थियो।

तर आर्थिक वर्ष २०८०/०८१ मा वडा कार्यालयहरुले सोही सडक बत्ती प्रति गोटा  ६ हजार दुईसय ५० का दर जडान गराएका छन्। एक आर्थिक वर्षको अन्तरालमा एउटै साइज, गुणस्तर र उही कम्पनीको बत्ती जडान गर्दा १८ हजार ७ सयको फरक परेको छ।

आर्थिक वर्ष २०७९/०८० मा गोलबजार नगर सभाले वडा नंं ४, ६ र ७ मा सडक बत्ती जडान गर्न ३० लाख बजेट विनियोजन गरेको थियो। नियमानुसार उक्त परियोजना सञ्चालन गर्न खुला प्रतिस्पर्धा गर्ने गराउने गरी बोलपत्र आह्वान गर्नुपर्थ्याे।

खरिद ऐन अनुसार गत आर्थिक वर्षसम्म १० लाख भन्दामाथिको परियोजना सञ्चालन गर्दा अनिवार्य रुपमा खुला बोलपत्र आह्वान गर्नैपर्ने कानुनी व्यवस्था थियो। तर गुपचुप रुपमा आफ्नै भाइ भतिजालाई परियोजना पार्न नियमविपरीत परियोजनालाई तीन टुक्रा पारिएको स्थानीयको भनाइ छ।

१०–१० लाखको तीनवटा परियोजना बनाएर कोटेशनमार्फत (दर भाउ पत्र मागेर ) तीनवटै वडाको सडक बत्ती जडान परियोजना मेयर श्याम कुमार श्रेष्ठले आफ्नै भतिजा राजकुमारलाई प्रदान गरेका छन्।

गोलबजार नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पौडेल भन्छन्, ‘मेयरसाबको नन्दीभृङ्गीले नगरपालिकालाई चारैतिरबाट घेरेका थिए। प्रणाली अनुसार काम गर्नै दिएनन्। मेयरसाबको ठाडो आदेश अनुसार कानुनविपरीत बोलपत्र आह्वान गर्नुपर्ने ठाउँमा परियोजनालाई तीन टुक्रामा विभाजित गरियो र कोटेशनमार्फत आफ्नै भतिजा राजकुमारलाई काम सुम्पिन लगाउनुभयो। भतिजा राजकुमारले तीनवटा फर्म ल्याएर सुटुक्क कोटेशन भर्नुभयो।’

आर्थिक वर्ष २०७९/०८० मा वडा नं. ४, ६ र ७ मा ३९ –३९ थान गरी ११७ थान सडक बत्ती जडान गरिएको छ। वडा नं. ४ मा पुण्य नेत्र सप्लायर्स, वडा नं. ६ मा सुनकोशी सप्लायर्स र वडा नं. ७ मा कानुन इन्टरप्राइजेजसँग सम्झौता गरेर भुक्तानी दिइएको छ।

यही तीनवटा फार्मबाट घटीबेसी गरेर तीनवटै वडामा कोटेशन पेस गरिएको छ।  ३९ वटा बत्ती जडान गर्न वडा नं.४ मा ९ लाख ७१ हजार ७ सय ४३ रकम प्रदान गरिएको छ। वडा नं. ६ मा ९ लाख बहत्तर हजार ७ सय ५७ रुपैयाँ भुक्तानी दिइएको छ।

त्यसैगरी वडा नं. ७ मा ९ लाख ५७ हजार १ सय १२ रुपैयाँ भुक्तानी दिएको छ। तीनवटै वडामा जडान गरिएको ११७ थान सडक बत्ती २४ वाट को हो। यो बत्तीको मूल्य स्थानीय बजारमा होलसेलमा मात्र १८ सय पर्दछ।

गोलबजारस्थित दीपक इन्टरप्राइजेजमा उक्त सडक बत्ती खुद्रा मूल्यमा प्रति गोटा दुई हजारमा उपलब्ध छ। १८ सयको बत्ती जडान गर्न प्रतिगोटा २५ हजार भुक्तानी दिइएको छ।

सडक बत्ती जडान परियोजनामा ‘मह काढ्ने र हात चाट्ने’ अवसर पाएपछि आर्थिक वर्ष २०८०/०८१ मा वडा नं. ४,९,११ र १३ मा सडक बत्ती जडान कार्यक्रम राख्न लगाइयो। तर यस पटक वडास्तरीय बजेटमा पनि सडक बत्ती जडान कार्यक्रम राखिएको थियो।

आर्थिक वर्ष २०८०/०८१ मा वडा नं. ४ ले मात्र १० लाख रकम खर्चेर १६० थान सडक बत्ती जडान गरेको छ। हिसाब गर्दा प्रतिगोटा सडक बत्तीको ६ हजार २ सय ५० पर्न आउँछ।

वडा नं. ९,११ र १३ मा पनि सोही दर रेट अनुसार सडक बत्ती जडान गरिएको छ। यस पटकको सडक बत्ती जडान कार्य स्थानीय कम्पनी थ्री ब्रदर्स इलेक्ट्रोनिक्स धनगढीमाईले गरेको हो। तीन वर्षसम्म बिग्रिएमा निशुल्क मर्मत गर्ने सम्झौता समेत गरिएको छ।

यस पटक पनि नगरपालिकाले हरेक वडामा एकीकृत रुपमा नगरपालिकाको जिन्सी शाखाबाटै सडक बत्ती एकमुष्ट खरिद गरिने छ भनेर वडाहरुमा पत्राचार गरिएको थियो। प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले काठमाडौंको कम्पनीलाई एकमुष्ट रुपमा योजना सुम्पने भनेका थिए।

मेयर श्रेष्ठले पनि वडाहरुबाट सडक बत्ती खरिद गर्दा लेखा परीक्षणमा बेरुजु आउने भएकाले नगरपालिकाबाटै एकमुष्ट खरिद गर्ने भनेर पत्राचार समेत गराएका थिए। वडाहरुले खरिद गर्दा बेरुजु आयो भने त्यसको जिम्मा कसले लिने ? भनेर मेयर श्रेष्ठले वडाध्यक्षहरुलाई तर्साउन खोजेका थिए।

तर वडाध्यक्षहरु यस पटक अडानबाट टसमस भएनन्, मान्दै मानेनन्। वडा नं. १३ का वडाध्यक्ष नन्दकुमार सिंहले भन्छन्, ‘नगरपालिकाको लुट मच्चाउने पत्राचारलाई हामीले महत्व दिएनौं। हामीले सडक बत्ती जडान गर्ने कार्य आफैंले कार्यन्वयन गर्यौं।’

वडा नं. ४ का सकलदेव यादव भन्छन्, ‘यो काम स्थानीय कम्पनीहरुबाट गराउने भनेर मैंले अडान लिएँ। किनकि पछि मर्मत सम्भार गर्न गराउन पनि सजिलो हुन्छ। प्रतिगोटा ६ हजारमा जडान हुने सडक बत्तीको २५ हजार तिर्दैनौ भनेर अडान लिएपछि अधिकृत केसी रिसाए। उनले अहिले मलाई चारैतिरबाट परिवन्धमा पार्न खोज्दैछन्। तर उनको घेरा तोडेर म अघि बढ्छु।’

वडा नं. २ का वडाध्यक्ष सुकदेव सिंह भन्छन्, ‘हामी आफैंले सडक बत्ती जडान गर्दा प्रतिगोटा मिस्त्री खर्च समेत मात्र ६ हजारमा गर्न सक्छौ। तर नगरपालिकाले एउटै बत्तीमा २५ हजार खर्चिएको छ।’

एमालेका स्थानीय नेता दामोदर अधिकारी भन्छन्, ‘गोलबजार नगरपालिकामा आफूले गरेको भ्रष्टाचार आफैँउदाङ्गो पार्ने काम भएको छ।’ 

एक वर्ष अगाडि २५ हजारका दरले जडान गरिएको सडक बत्ती एक वर्षपछि ६ हजार २ सय पचासमा कसरी जडान भयो? जाहेर छ गत वर्ष सडक बत्ती जडानमा अकुत भ्रष्टाचार भएको थियो।

अधिकारीले खुला चुनौती दिँदै भने, ‘मेयर श्याम श्रेष्ठले गत वर्षको बत्ती जडानमा भ्रष्टाचार भएको छैन भनेर कसरी भन्न सक्छन्? उही गुणस्तर, उही साइज र उही कम्पनीको बत्ती एक वर्ष अगाडि २५ हजार र एक वर्ष पछि ६ हजार दुई सय ५० हुन्छ? भ्रष्टाचार गरेको प्रमाणित भए राजीनामा दिन्छु भन्ने मेयरले अब कुन टालोले लाज छोप्छन् त?’

अधिकारीले भने, ‘उनकै भतिजोले उनकै आदेशमा सडक बत्ती जडानको काम पाएका थिए। ३० लाखमा मात्र ११७ थान बत्ती जडान गरे। एउटा  परियोजनालाई गैर कानुनी रुपमा तीनटुक्रा बनाएर मेयर श्रेष्ठले कोटेशनमार्फत आफ्ना भतिजलाई सडक बत्ती जडानको कार्य सुम्पेका थिए।’

माओवादीका स्थानीय नेता रामचन्द्र सिंह भन्छन्, ‘गोलबजार नगरपालिकामा अवैध धनको वर्षा छ। मेयर श्याम श्रेष्ठलाई सोलीले छोप्नु भ्याईनभ्याई छ। यस्तो देखादेख भ्रष्टाचारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राथमिकता दिएर अनुसन्धान गरी दोषीहरुलाई कारवाही गर्नुपर्छ।’

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?