बिएल संवाददाता
काठमाडौं
अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी बिहीबार दिउँसो सम्म १ सय ४८ जनाको मृत्यु भएको छ।
विपद्मा परी काठमाडौँ उपत्यकामा ३, कोशी प्रदेशमा २५, मधेश प्रदेशमा ६, बागमती प्रदेशमा २९, गण्डकी प्रदेशमा ४२, लुम्बिनी प्रदेशमा २५, कर्णाली प्रदेशमा ८ र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ४८ जनाको मृत्यु भएको हो।
साथै काठमाडौँ उपत्यकामा १०, कोशीमा ३७, मधेशमा १०, बागमतीमा १०, गण्डकीमा ३४, लुम्बिनीमा १०, कर्णालीमा ५१ र सुदूरपश्चिममा १४ जना गरी १ सय ७६ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको प्रहरीले जनाएकाे छ।
साथै काठमाडौँ उपत्यकामा २६, कोशीमा ४९, बागमतीमा १२, गण्डकीमा १४, कर्णालीमा २ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी १ सय ८ जनाको उद्दार गरिएको छ।
प्रहरीका अनुसार बाढीपहिरोमा परी कोशीमा २, बागमतीमा ४२ जना, गण्डकीमा २ जना र कर्णालीमा १ जना गरी ४७ जना बेपत्ता भएका छन्। बपत्ताको खोजी कार्य जारी छ।
बाढीको कारण ३ सय ८३ घर डुबानमा परेकाे प्रहरीले बताएकाे छ। २ सय ५५ घर, ९१ गोठ, ४३ पुल, २ विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। यस्तै ७ सय १५ वटा पशु चौपायको मृत्यु भएको छ भने उक्त अवधिमा विपद्का घटनाबाट ४ हजार १ सय १२ घर परिवार विस्थापित भएका छन्।
साथै बाढीपहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कामसमेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्यसमेत प्रहरीले गरिरहेको छ।