बिएल संवाददाता
चितवन
चितवनको सिमलतालमा त्रिशुलीमा खसेको दुई वटा बस र यात्रुको अवस्था अझै अज्ञात रहेको छ।
बस बेपत्ता भएको आज १७ दिन पुगेको छ। नेपाली र भारतीय टोलीले गरेका खोजीका सबै प्रयास असफल भएसँगै बस खोजीका लागि आएको भारतीय टोली आज फर्किँदै छ।
नेपाली टोलीले अब कसरी खोजीकार्य अगाडि बढाउने भन्ने विषयमा छलफल गर्ने तयारी गरेको छ।
यसअघि भारतीय उद्दार टोलीले घटनास्थलमा शनिबार दिउँसो बस खोजी गर्नेक्रममा १९ किलोको चुम्बक नै पानीले बगाएको थियो। भारतीय टोलीले शनिबार १९ केजी र १४ केजीको दुई वटा चुम्बक प्रयोग गरेर खोजी गरेको थियो।
यसैबीच शनिबार साँझ चितवनको केराबारीमा नदीको बीचमा रातो बसजस्तो वस्तु देखिएको स्थानीयले बताएपछि सुरक्षाकर्मीहरुले भने सो वस्तु बस नभएको बताएका छन्।
असार २८ गते लेदोसहितको पहिरोले बगाएका दुई बस अहिलेसम्म भेटिएका छैनन्। बेपत्ता ६२ यात्रुमध्ये अहिलेसम्म २४ जनाको शव फेला परेको छ भने अझै ३८ जनाको अवस्था अज्ञात रहेको छ।