बिएल संवाददाता
बिर्तामोड
झापाको हल्दीबारी गाउँपालिकामा आफ्नै बाबुको हत्या गरेको अभियोगमा छोरा पक्राउ गरेकाे छ। हल्दीबारी गाउँपालिका–२ पाराखोपी बजारपूर्व आफ्नै बाबुको हत्या आरोपमा प्रहरीले छोरालाई नियन्त्रणमा लिएको हो।
गएराति २ बजे पाराखोपीका ६३ वर्षीय बासु राजवंशी आफ्नै घरको आँगनमा रहेको लिचीको बोटमा झुण्डिएको अवस्थामा फेला परेका थिए। मृतकको टाउको र आँखामा चोट देखिएको छ।
राजवंशीको मृत्यु शंकास्पद देखिएपछि उनका छोरा करिब ३० वर्षीय सुनिललाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए। डीएसपी चन्द नेतृत्वको टोलीले अनुसन्धान गरेपछि मृतक राजवंशीका छोरा सुनिललाई नियन्त्रणमा लिएको हो।
झुन्डिएको अवस्थामा फेला परेका राजवंशीको टाउको, अनुहारसहित शरीरका विभिन्न भागमा चोट लागेको र अनुहारभरी रगत देखिएको वडा अध्यक्ष शुकलाल राजवंशीले बताए।
सुनिललाई नियन्त्रण लिएर जिल्ला प्रहरी कार्यालय झापा लगिएको छ भने मृतकको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ। मृतक बासु र उनका छोराबिच त्यस रात झगडा भएको बताइएको छ। छोराको लुगामा समेत रगत भेटिएको डीएसपी चन्दले जानकारी दिए।