सोमबार, १८ नोभेम्बर २०२४

लुतो फ्याँक्ने चलनसँग वैज्ञानिक र धार्मिक कारण जोडिन्छ: डा. अधिकारी (भिडियाे)

News Image
• • •

प्रत्येक वर्ष साउन १ गते मनाउने साउने (कर्कट) संक्रान्ति पर्व आज (मंगलबार) देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइएकाे छ।

साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ। माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेषरूपमा मनाइन्छ।

अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन्। त्यस क्रममा हिलो-मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद्धहरु बताउँछन्।

परम्पराअनुसार काग भलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ।

लुतो फाल्दा आ–आफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ।

साउन महिनालाई विशेषरूपमा भगवान शिवको पूजा गरेर मनाइन्छ। महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिन्छ।

लुतो फ्याँक्ने चलन सिधा स्वास्थ्यसँग जोडिएको संस्कार भएको धर्मसंस्कृतिबारे जानकारहरु बताउँछन्। असार महिनामा हिलो र फोहोरमा हिँडडुल गर्दा लुतो लाग्ने गरेको र साउन १ गते लुतो फ्याँक्ने चलन सुरु भएको मानिन्छ। यो प्रचलन कहिले कसरी शुरु भयो यकिन गर्न नसकिएपनि खस साम्राज्यबाट शुरु भयो भन्ने अनुमान गरिन्छ।

वरिष्ठ ज्योतिष एवम पण्डित डा.रुद्रनाथ अधिकारी लुतो फ्याँक्ने चलनसँग वैज्ञानिक कारण जोडिएको बताउँछन्।

‘लुतो फाल्ने भनेको साउन महिनामा पृथ्वी रजश्वला हुन्छिन्। गंगा रजश्वला हुन्छिन्। अर्काे कुरा साउन महिनामा दुध खानुहुन्न। वैज्ञानिकहरूले पनि अघिपछिको महिना र साउन महिनाको दुधमा विषाक्त हुन्छ भनेर छुट्याएको छ। सकेसम्म साउन महिनामा दुध पनि ग्रहण नगर्नु भनिन्छ’डा अधिकारीले भने, ‘गाईले विभिन्न प्रकारका विशाक्त पानी पिएको हुन्छ त्यहीँ भएर साउनमा दुध पिउन उचित हुँदैन। भगवान शिवले किराँत स्वरूपको रूप धारण गरेर पृथ्वीमा भगवती, गौरी, पार्वतीसँग विचरण गरेर भक्तहरूका ढोकाढोकामा पुगेर सुखदुःख अनुभुत गरेर प्रत्यक्ष रूपमा भगवान शिव साउन महिनामा अवतरित भएका हुन्। त्यसैले यो महिनालाई लुतो फाल्ने महिना पनि भनिन्छ।’

‘असारमा विभिन्न प्रकारका किटपतिङ्गरबाट संक्रमण हुन्छ र छालामा विशेष प्रकारको घाउहरू हुन्छन्। त्यसैले साउनमा राक्षसको मूर्ति बनाएर नयाँ फल अर्पण गरेर १६ प्रकारका जडिबुटीहरू मूर्तिमा चढाएर चारै दिशामा जल फालेर परिवारलाई केही नहोस् भनेर यो पर्व मनाइने गरिन्छ,’ उनले भने।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?