बिएल संवाददाता
काठमाडौं
सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेकाे रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
जनता समाजवादी पार्टीलाई आधिकारिकता दिने निर्वाचन आयोगकाे निर्णयविरुद्ध यादवले दायर गरेकाे रिटमा बुधबार न्यायाधीश विनोद शर्माको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हाे।
निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्ने आदेश दिँदै दुबै पक्षलाई जेठ ८ गते छलफलका लागि बाेलाएकाे छ।
आयोगले अशोक राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई आधिकारिकता दिएकोप्रति असन्तुष्टि जनाउँदै जसपा नेपालका अध्यक्ष यादवले साेमबार निर्वाचन आयोगलगायतलाई विपक्षी बनाइ सर्वोच्चमा रिट दायर गरेका थिए।
यही वैशाख २३ गते राईले जसपा विभाजन गरेर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका थिए। सोही निवेदनको आधारमा निर्वाचन आयोगले यही वैशाख २४ गते आधिकारिकताको प्रमाणपत्र दिएको थियो।
जसपा नेपालमा भएको विभाजनपछि उपेन्द्र यादवको पार्टीमा १२ मध्ये ५ मात्रै सांसद रहेका छन्।