बुधबार, २० नोभेम्बर २०२४

खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो

News Image
• • •

खडेरीले मकै सुक्न थालेपछि चितवनको भरतपुरमा नारायणी लिफ्ट खगेरी सिँचाइ व्यवस्थापन कार्यालयले सिँचाइका लागि पानी छोडेको छ। 

बिहीबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको उपस्थितिमा लिफ्टको ‘बी’ क्यानलबाट पानी छाडिएको व्यवस्थापन कार्यालय प्रमुख हरि गुरागाईंले जानकारी दिए। 

कार्यालय प्रमुख गुरागाईंले नारायणी लिफ्ट सिँचाइ योजनाबाटएक दशकपछि किसानको मागअनुसार मकै र धान बालीलाई लक्षित गरी हिउँदमा पनि पानी छाडिएको बताए। उनले दुई हजार लिटर प्रतिसेकेण्ड पानी तान्ने सानो पम्प जडानपछि हिउँदमा पनि पानी छाड्न सहज भएको बताए।

त्यसअवसरमा नगरप्रमुख दाहालले खडेरीले मकै सुक्न थालेपछि किसानको सहजताका लागि पानी छाडिएको बताइन्। उनले ३९ करोडको ठेक्का लगाएर नारायणी लिफ्टमा नयाँ मेसिन जडान गर्न लागिएको र हाल दुई वटा मेसिन जडानको काम सम्पन्न भइसकेका जानकारी  दिइन्।

‘बी’ क्यानलको पानी क्षेत्रपुरबाट यज्ञपुरी, कल्याणपुर, श्रीपुर, कैलाशनगर, तोरीखेत, पारसनगर, केशरबाग, देवनगरसम्म पुग्ने गरेको छ।

नारायणी लिफ्ट सिँचाइ प्रणाली उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटले पनि विसं ०६९ पछि यसवर्ष पहिलो पटक हिउँदमा पनि नारायणी लिफ्टको पानी छाडिएको बताए।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?