बुधबार, २० नोभेम्बर २०२४

बाँकेका किसान चैते धानप्रति आकर्षित

फाइल तस्बिर
• • •

प्रशस्त उत्पादन हुने जानकारी अगुवा किसानबाट पाएपछि बाँकेका किसान चैते धानप्रति आकर्षित भएका छन्। सिँचाइ सुविधा भएको जिल्लाको राप्तीसोनारी, बैजनाथ, डुडुवा गाउँपालिकाका किसान चैते धानप्रति आकर्षित भएका हुन्।

पहिलोपटक चैते धानको खेती गरेकी बैजनाथ गाउँपालिका–६ की किसान गीता खत्रीले चैते धानको खेतीमा धमिरो लाग्ने गरेको अनुभव सुनाउँदै मलखाद पनि बढी प्रयोग हुने बताइन्।

उनले बर्खे धान खेतीभन्दा चैते धान खेतीमा बढी मिहिनेत गर्नुपर्ने र उक्त धान खेतीमा रोग बढी लाग्ने भएकाले विषादीको मात्रा पनि बढी हुने उल्लेख गरिन्। यद्यपि खत्रीले मनग्गे उत्पादन हुनेमा आफू ढुक्क भएको बताइन्।

करिब पाँच कट्ठा जमिन क्षेत्रफलमा चैते धानको खेती गरेकी खत्रीले बिउको ब्याड राख्न नजानेर समस्या झेल्नुपरेको बताइन्। कृषि ज्ञान केन्द्रका बागवानी अधिकृत रामप्रसाद यादवले अहिलेसम्म ९२ जना नयाँ किसानले यस वर्षदेखि चैते धानको खेती सुरु गरेको जानकारी दिए।

उनले चैते धान खेतीका लागि किसानलाई निःशुल्क बिउ वितरण भएको उल्लेख गर्दै हर्दिनेटा १, ३ र चैते ५ जातको चैते धानको खेती भएको बताए। ‘चैते धान लगाउन किसानले झन्झट मानेका कारण कतिपय सिँचाइको सुविधा भएको ठाउँमा मकै खेती पनि गरेका छन्,’ यादवले भने।

बागवानी अधिकृत यादवले अहिले चैते धानको गाँज लाग्ने बेला सुरु भएको जानकारी दिँदै बर्खे धानलाई जस्तै प्रशस्त पानी नचाहिने बताए। कृषि ज्ञान केन्द्रका अनुसार केही किसानले आफ्नै लगानीमा र केहीले कृषि अनुसन्धान केन्द्र खजुराले दिएको बिउबाट गरी कूल ४० हेक्टर जमिनमा चैते धानको खेती गरेका छन्।  

यस वर्ष जिल्लाको बैजनाथ गाउँपालिका–८ को टिटिरिया, झिगौरा, मचरा डुडुवा गाउँपालिका–३ को सूर्य, लालपूर्जा, वनकट्टि, राप्तिसोनारीको फत्तेपुर, खजुरा गाउँपालिका–२ को के गाउँमा चैते धानको खेती भएको  छ। साथै गाउँपालिकामा स्थापना भएका कृषि सहकारी समूहमार्फत किसानलाई बिउ, मल र विषादी वितरण गरिएको छ। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?