मङ्गलबार, १९ नोभेम्बर २०२४

बारामा ग्यारेजमा विस्फोट: मृतककाे संख्या तीन पुग्याे (अपडेट)

News Image
• • •

निजगढ नगरपालिका–७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना) मा सोमबार भएको विस्फोटमा परी मृत्यु हुनेकाे संख्या तीन पुगेकाे छ। 

मृत्यु हुनेमा ग्यारेज सञ्चालक ४५ वर्षीय रेशम मगर, भारत घर भएका ३५ वर्षीय राकेश जैसवाल र पर्सा वीरगन्ज घर भएका २० वर्षीय रितु रजत रहेका छन्। विस्फोटमा घाइते भएका ६ जनामध्ये तीन जनाको उपचारको क्रममा मृत्यु भएको हो।

निजगढ नगरपालिका–९ का कवाडी सञ्चालक राज जैसवालले ‘प्रोजोक्टाइल’जस्तै देखिने वस्तुमा भएको तामा निकाल्न ल्याएको र सो क्रममा उक्त वस्तु विस्फोट भएको प्रहरीको भनाइ छ। जैसवालले सुरुमा कवाडीमै तामा निकाल्न प्रयास गरे पनि नसकेपछि ग्यारेजको लेथमा ल्याएका थिए।

लेथले काट्ने प्रयास गर्दा उक्त वस्तु विस्फोट भएको हो। प्रोजोक्टाइल मिसाइलमा प्रयोग हुन्छ। यो नेपालमा नपाइने प्रहरीले जनाएको छ। सो वस्तुमा इन्डीयन फिल्ड गन १०५ एमएममा प्रयोग हुनेजस्तो देखिएको प्रहरीको भनाइ छ। विस्फोटपछि कवाडी सञ्चालक जैसवाल र उनकी श्रीमती सुसिलादेवी जैसवाल एम्बुलेन्समार्फत भारततर्फ जाँदै गर्दा प्रहरीले पक्राउ गरेको छ।

घाइते हुनेमा भारत घर भएका २० वर्षीय अरविन साह, पर्सा वीरगन्ज घर भएका ३४ वर्षीय फिरोद देवान र निजगढ नगरपालिका– ५ का ४५ वर्षीय सूर्यबहादुर थापा रहेका छन्। घाइतेमध्ये देवानको अवस्था सामान्य छ भने थापा उपचारपछि घर फर्किएका छन्।

विस्फोट भएको उक्त वस्तु हेर्दा बमजस्तै देखिन्छ यो प्रोजोक्टाइल हो वा अन्य विस्फोटक भन्ने परीक्षणपछि मात्र बताउन मिल्ने बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए। उनले भने, ‘लेथमा फलाम काट्ने क्रममा विस्फोट भएको भन्ने प्रारम्भिक जानकारी आएको र घटनाबारे थप अनुसन्धान भइरहेको छ।’

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?