बिएल संवाददाता
जुम्ला
जुम्लाको पातरासीमा आगलागी हुँदा एउटा घर जलेर ४१ लाख बढीको भएकाे छ। पातारासी गाउँपालिका- २ तल्फीका कालसिंह सार्कीकाे घर आगलागीबाट पूर्ण रुपमा नष्ट भएकाे हो।
गएराती साढे ११ बजे अचानक आगलागी हुँदा घर जलेर खरानी भएकाे वडा नं. २ का अध्यक्ष बलबहादुर बाहाेराले बताए।
‘पातरासीमा कालसिंह सार्कीको ठुलो परिवार छ,’ उनले भने, ‘उहाँको दुईतले घर जल्दा २८ जना परिवार विस्तापित भएको छ।’
आगलागीबाट मानवीय क्षति नभए पनि पूरै अन्न, लत्ता कपडा, भाँडा-कुँडा, गरगहना, र महत्वपूर्ण सामान जलेर नष्ट भएको सो परिवारका सदस्य प्रहरी डिल्ली नेपालीले बताए।
‘हाम्रो परिवार बेला-बेला समस्या भोगिरहेको छ। पहोर साल मुगु हिम पहिरोमा परि हाम्रो परिवाका दुई जना सदस्य गुमाउनु पर्यो,’ उनले भने, ‘यो वर्ष हाम्रो घरमा आगलागी भयो हामी रोडमा आएका छौँ।’
आगलागीबाट ४१ लाख १५ हजार बराबरकाे क्षति भएकाे जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी यमबहादुर बुढा मगरले बताए।
उनका अनुसार आगलागीकाे कारण खुल्न नसकेको र अनुसन्धान भइरहेकाे छ।
पीडित परिवारलाई राहत तथा पुनर्स्थापनाका लागि पालिकाले चाँडै नै निर्णय गर्ने पातारासीका अध्यक्ष पूर्णसिंह बाहाेराले बताए।
‘आगलागी भगको घर एक मात्र भए पनि ठुलो क्षति भएको छ,’ उनले भने, ‘ठुलो परिवारलाई तत्काल पुनःस्थापना गर्ने विषयमा सोच्नेछौँ।’
तत्काललाई खान बस्नसमेत समस्या परेको हुनाले गाउँपालिका व्यवस्थापनमा जुट्ने पातारासी गाउँपालिकाकी उपाध्यक्ष जनमाया राेकायाले बताइन्।
उनले भनिन्, ‘त्यत्रो ठुलो परिवारको बिचल्ली भएको छ। स्थानीय सरकार हुनुको अभास मिल्ने गरी हामीले चाँडै नै निर्णय लिनेछौँ।’