मङ्गलबार, १९ नोभेम्बर २०२४

रौतहट प्रहरीद्वारा भारतबाट ल्याइएका अढाइ क्विन्टल माछा नष्ट, स्थानीयले भने- धन्यवाद

News Image
• • •

रौतहटस्थित प्रहरीले अवैध रुपमा भारतबाट ल्याइएका अढाइ क्विन्टल माछा नष्ट गरेको छ। जिल्लाको पूर्वी भेग गढीमाई नगरपालिका- ७ स्थित विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गौर र प्रहरी चौकी धर्मपुरको संयुक्त टोलीले उक्त माछा नष्ट गरेको हो।

भारतबाट अवैध रुपमा भित्र्याइएको अढाइ क्विन्टल माछा स्थानीय भद्रभलादमी रोहवरमा प्रहरी चौकीको हाताभित्रै खाल्डो खनेर नष्ट गरेको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले बताएका छन।

तस्करहरुले सस्तो मूल्यमा पर्ने भनेर विभिन्न जातको भारतीय माछा जिल्लामा अवैध रुपमा भित्र्याएर बिक्री गर्ने गर्दछन्। नेपाली उत्पादनको तुलनामा सस्तो पर्ने भएकाले यहाँका दर्जन बढी तस्कर भारत आन्ध्र प्रदेशमा उत्पादित बचवालगायत जातको माछा अबैध रुपमा भित्रयाउने गरेका थिए।

आन्ध्र प्रदेशबाट रौतहटसम्म ल्याउँदा दुई हप्तासम्म समय लाग्ने भएकाले तस्करहरुले उक्त माछा ल्याउन विभिन्न प्रकारको खतरनाक केमिकलको प्रयोग गर्दछन्।

तस्करहरुले सीमा क्षेत्रका नेपाल प्रहरीका युनिटसँगै सशस्त्र प्रहरीलाई समेत प्रलोभनमा पारेर मानव स्वास्थ्यका लागि अतिनै हानिकारक भारतीय माछा रौतहटलगायत मधेस प्रदेशको प्रायः सबै जिल्लाहरुमा अवैध रुपमा ल्याएर बिक्री गर्दै आएका छन्।

रौतहट प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठको पहलको स्थानीयले सराहना गरेका छन।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?